ब्राजिलमा हुने भनिएको कोपा अमेरिका ब्राजिलका खेलाडीहरुले नै बहिस्कार गर्ने !

एजेन्सी – ब्राजिलको राष्ट्रिय फुटबल टोलीका कप्तान क्यासेमिरोले टोलीका सबै सदस्यले अर्को साता ब्राजिलमै सुरु हुने भनिएको कोपा अमेरिका नखेल्ने संकेत दिएका छन् ।

शनिबार विहान इक्वेडरविरुद्ध विश्वकप छनोटको खेलमा जित दर्ता गरेपछि बोल्ने क्रममा क्यासेमिरोले यस्तो अभिव्यक्ति दिएका हुन् । खेलको अघिल्लो दिन भएको पत्रकार सम्मेलनमा कप्तान क्यासेमिरोले कोपा ब्राजिलमा हुने निर्णयप्रति असन्तुष्टि जनाउँदै उपस्थित भएका थिएनन् । प्रशिक्षक टिटेले त्यसबेला टोलीका केहि खेलाडी कोपा ब्राजिलमा आयोजना भए नखेल्ने सम्भावना रहेको बताएका थिए ।

क्यासेमिरोले भने शनिबार केहि खेलाडी मात्र नभएर टोलीका सबै सदस्य अहिलेको अवस्थामा कोपा अमेरिका खेल्न इच्छुक नरहेको जानकारी दिएका छन् । ‘सबैजनाको एउटै निर्णय हो, प्रशिक्षक टिटे सहित । युरोपमा खेल्ने खेलाडी मात्र होइन, सबैको निर्णय,’ उनले थपे, ‘सबैलाई थाहा छ ब्राजिलमा कोपा अमेरिकालाई लिएर के स्थिति छ । त्यो झन स्पष्ट हुँदै गएको छ । अब पाराग्वेविरुद्ध खेलपछि हामीसँग थप स्पष्ट निर्णय हुनेछ ।’

कोपा अमेरिका जुन १३ देखि सुरु हुने तालिका रहेको छ । तर पछिल्लो समय आयोजनालाई लिएर चौतर्फी आलोचना हुँदै आएको छ । कोलोम्बिया र अर्जेन्टिनाबाट नाम फिर्ता लिएर ब्राजिललाई दिने निर्णयमा प्रश्न उठ्नु स्वभाविक पनि हो । ब्राजिल दक्षिण अमेरिकामा कोरोनाले सबैभन्दा प्रभावित देशमा पर्छ ।

अहिले ब्राजिलमा कोरोना महामारीलाई लिएर सरकारले बेवास्ता गरेको भन्दै दिनहुँ प्रदर्शन भइरहेको । यस्तो अवस्थामा ब्राजिलले नै आयोजना गर्ने निर्णयबाट ब्राजिलियन खेलाडी खुसी नरहेको बताइएको छ ।

टिटेले अघिल्लो दिन पत्रकार सम्मेलनमा भनेका थिए, ‘प्रतियोगिता आयोजनाका विषयमा गरिएको राष्ट्रपतिको निर्णयविरुद्ध खेलाडीको धारणा प्रष्ट छ । त्यसै कारण पनि क्यासेमिरो आज उपस्थित भएनन् ।’

ब्राजिलका राष्ट्रपतिकै आग्रहमा कन्मेबलले प्रतियोगिता ब्राजिलमा सारेको थियो । ब्राजिलका जनताले भने सरकारको ध्यान कोरोना नियन्त्रणमा हुनुपर्ने बेलामा कोपा आयोजनामा ध्यान दिएको भन्दै आलोचना गरेका छन् ।ब्राजिलले कोपा अमेरिकाको पहिलो खेल जुन २७ मा इक्वेडरविरुद्ध खेल्नुपर्ने तय छ ।

प्रकाशित : शनिबार, जेठ २२, २०७८१६:३३

फ्री ट्रान्सफरमा विज्नाल्डम भित्र्याउने खोजिरहेको बार्सिलोनालाई पीएसजीको झड्का !