रोनाल्डो पछि पछिलोपटक पोर्चुगिज खेलाडीलाई प्रिमियर लिग प्लेयर अफ दि सिजनको उपाधि !

एजेन्सी – पोर्चुगिज डिफेन्डर रुवेन डियासले प्रिमियर लिगको प्लेयर अफ दि सिजनको उपाधि जितेका छन्। म्यानचेस्टर सिटीका डिफेन्डर रहेका उनी प्लेयर अफ दि सिजन चुनिएका हुन्।

प्लेयर अफ दि सिजनको उपाधि जित्दा उनले आफ्नै सहकर्मी केभिन डि ब्रुयन र टोटेनहमका ह्यारी केनलाई पछि पारे। प्लेयर अफ दि सिजनको उपाधिको दौडमा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेस, एस्टन भिल्लाका ज्याक ग्रेयासिल, वेस्ट ह्यामका थोमस सौसेक, चेल्सीका मासन माउन्ट र लिभरपुलका फरवार्ड मोहम्मद सलाह पनि थिए।

पोर्चुगिज क्लब बेन्फिकाबाट ६५ मिलियन पाउन्डमा सिटी आएका २४ वर्षीय डियासले सिटीलाई प्रिमियर लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेले। सिटीले १५ खेलमा क्लिन सिट राख्दा उनले ३२ खेल खेलेका थिए। डियास र इंग्लिस डिफेन्डर जोन स्टोन्सको साझेदारीकै कारण सिटीले सिजनमा ३२ गोल मात्र खायो।

उनी प्लेयर अफ दि सिजन जित्ने दोस्रो पोर्चुगिज खेलाडी बनेका छन्। प्रिमियर लिग प्लेयर अफ दि सिजनको उपाधि यस भन्दा अगाडी क्रिस्टियानो रोनाल्डोले मात्रै जितेका छन्। उनले २००६–०७ र २००७–०८ मा प्लेयर अफ दि सिजनको उपाधि जितेका थिए।

त्यस्तै प्लेयर अफ दि सिजनको उपाधि जित्ने डियास चौथो डिफेन्डर बनेका छन्। यस भन्दा अगाडी म्यानचेस्टर युनाइटेडका नेमान्जा भिडिक, सिटीकै पुर्व कप्तान भिन्सेन्ट कोम्पनी र लिभरपुलका भर्जिल भान डाइकले यो उपाधि हात पारेका छन्।

प्रकाशित : शनिबार, जेठ २२, २०७८१९:३८

सोचेजस्तो रहेन रोनाल्डोको म्याड्रिड भ्रमण, यस्तो सम्म व्यवहार भयो !