एजेन्सी – फ्रान्सेली राष्ट्रिय फुटबल टोली तथा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बाले राष्ट्रिय टोलीका सहकर्मी एनगोलो कान्टेले ब्यालोन डी’ओर जित्ने दावी गरेका छन् ।
एक खेल मिडियालाई अन्तर्वार्ता दिनेक्रममा पोग्बाले ब्यालोन डी’ओर कान्टेले जित्ने दावी गरेका हुन्। चेल्सीलाई प्रिमियर लिगमा मात्र नभई च्याम्पियन्स लिगमा पनि सफलता दिलाउन कान्टेले धेरै नै महत्वपूर्ण भूमिका खेलेको पोग्बाले बताए। कान्टेले पछिल्लो समय मात्र नभई कयौं समय देखि एकै प्रकारको प्रदर्शन गरिरहेको पोग्बाको भनाई छ।
पोग्बाले भने,”म सारा विश्वलाई के भन्न चाहन्छु भने एनगोलोले पछिल्लो केहि महिना मात्र नभई लामो समयदेखि यो प्रदर्शन गर्दै आएका छन् हामी उनको प्रदर्शनको चर्चा गर्दा उनले लगातार यस्तै स्तरमा खेलिरहेको बिर्सन हुँदैन।”
यस सिजन लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीले च्याम्पियन्स लिगको सेमिफाइनलमा ठाउँ बनाउन नसकेको उल्लेख गर्दै पोग्बाले ब्यालोन डी’ओरमा मिडफिल्डर र डिफेन्डरले मौका पाउनुपर्ने बताए।
“यसपटक रोनाल्डो र मेस्सी दुवैले च्याम्पियन्स लिगको सेमिफाइनलमा पनि स्थान बनाउन सकेनन् । त्यसैले पनि यसपटक मिडफिल्डरको प्रदर्शन वा भनौं डिफेन्डरकै प्रदर्शनलाई पनि हेर्न जरुरि छ।”,पोग्बाले भने।
कान्टेको प्रभावशाली प्रदर्शनकै कारण चेल्सीले च्याम्पियन्स लिग जितेका कारण ब्यालोन डी’ओरको हकदार उनी नै रहेको पोग्बाले दावी गरे। पोग्बाले भने,”मैले धेरै अघि यो भनेको थिएँ । यसपटक चेल्सीले च्याम्पियन्स लिग पनि जितेको छ । उनी अवार्डको हकदार छन्।

