अमेरिकामा कामदारको अभाव !

वासिङ्टन, कोरोनाभाइरस महामारीका कारण सन् २०२० मा ठूलो आर्थिक सङ्कट र बेरोजगारी झेलेको अमेरिकी अर्थतन्त्र अहिले तिब्र गतिमा अघि बढेको छ । कोरोनाभाइरसको खोप लगाएसँगै खुला भइरहेको अमेरिकी अर्थतन्त्र अहिले कामदारको अभाव र आपूर्ति व्यवस्थामा समस्या झेलिरहेको छ । अमेरिकी धेरै कम्पनीले कामदार पाउन सकेका छैनन् भने ग्राहकका मागलाई पूर्ति गर्नेगरी सामानको आपूर्ति गर्न मुश्किल परेको छ ।

फिलाडेल्फियास्थित पारिवारिक फर्म चलाउने एल्मर सुल्ज सर्भिसेजका अध्यक्ष कर्बी माल्लोनले भने, ‘अहिले परिस्थिति विस्फोटक छ – अर्थात् बत्ती बाल्नु जत्तिकै छ ।’ यस कम्पनीले रेस्टुराँ र अन्य ग्राहकका लागि भान्साघरका सामानको मर्मतसम्भार सम्बन्धी सेवा दिन्छ ।

उनले भने, ‘श्रम बजार नियन्त्रण बाहिर छ । हामीले प्राविधिक भेट्टाउन सकेका छैनौं । हामीले यति चाँडै बजार खोल्यौं कि हामी सायद तयार नै थिएनौं ।’ आर्थिक क्षेत्रका विज्ञहरुले पनि अमेरिकी अर्थतन्त्रमा पछिल्लो परिस्थिति अनुमान गरेकै थिएनन् । ‘के यो अर्थतन्त्र सबल भएकै कारण उत्पन्न भएको हो वा संघीय सरकारले उपलब्ध गराएको राहतका कारण भएको हो ?’ अर्थ विदहरुको प्रश्न यही छ ।

धेरै पक्षबाट विचार गर्दा खुशी हुनुपर्ने कारणहरु छन् : अमेरिकी अर्थतन्त्र जनवरीदेखि मार्चबीचको अवधिमा ६.४ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो त्रैमासिक अवधिमा अर्थतन्त्र झण्डै दोब्बर अंकले वृद्धि हुँदैछ ।

रोजगारीका क्षेत्रमा गत मे महिना पाँच लाख ५९ हजार नयाँ रोजगारी सिर्जना भएको थियो । गत अप्रिल महिनामा यस्तो रोजगारी दुई लाख ७८ हजार मात्र थप भएको थियो ।

अर्कोतर्फ, घरमै महिनौ बस्न विवश लाखौं उपभोक्ता बजारमा खुला रुपमा निस्किएका छन् र उनीहरु केही न केही सामान किन्न आतुर देखिएका छन् । उनीहरुलाई संघीय सरकारले यसै वर्ष उपलब्ध गराएको एक हजार ४०० अमेरिकी डलरको राहतले पनि खर्च गर्न उक्साएको छ ।

त्यस्तै अमेरिकी कारखानाहरु पनि आपूर्ति र कामदारको कमीकै बाबजूद पनि उच्च क्षमतामा सञ्चालन हुन थालेका छन् । सप्लाई म्यानेजमेन्ट इन्स्टिच्यूटको सूचक पनि गत महिना ६१.२ विन्दुमा पुगेको थियो । यो सूचकले ५० विन्दुभन्दा माथि भएमा वृद्धि जनाउँछ । अमेरिकामा प्रमुख १८ मध्ये १६ वटा कम्पनीले पर्याप्त आपूर्ति गर्न नसकेको जनाएको पनि इन्स्टिच्यूटको भनाई छ ।

प्रकाशित : आइतबार, जेठ २३, २०७८१७:४१

स्वास्थ्यकर्मीलाई कुटपिट गरे अब तीन वर्ष कैद