एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी)का अध्यक्ष नासेर अल-खिलाफीले स्टार फरवार्ड किलियन एम्बाप्पे कुनै पनि हालतमा निशुल्क उपलब्ध नहुने बताएका छन्। एक मिडियासँग कुराकनी गर्नेक्रममा नासेर अल-खिलाफीले एम्बाप्पे फ्री ट्रान्सफरमा उपलब्ध नहुने बताए।
खिलाफीका अनुसार एम्बाप्पे फ्री ट्रान्सफरमा उपलब्ध हुन्छन् भनेर सोच्नु गलत हुन जाने बताए। उनका अनुसार एम्बाप्पेको सम्झौता थप्ने बारे लगातार छलफल भइरहेको छ।
“म स्पष्ट छु, एम्बाप्पे पीएसजीमै रहनेछन्। हामी उनलाई सहजै बेच्ने छैनौँ र उनी निशुल्क उपलब्ध हुनेछैनन्।”,खिलाफीले भने। एम्बाप्पेसँग भइरहेको छलफल बारे खासै बताउन नचाहेपछि आफूहरु छिट्टै एक सहमतिमा अपुगने उनले बताए।
“म चलिरहेको वार्ता बारेमा मिडियालाई केहि पनि विवरण दिन चाहन्न। म यति भन्न सक्छु कि छलफल राम्रोसंग आगाडी बढिरहेको छ। म आशा गर्दछु कि हामी साझा निष्कर्षमा पुग्नेछौँ।”,उनले भने।
त्यस्तै खिलाफीले फ्रान्स एम्बाप्पेको देश रहेका कारण देशको लिगलाई प्रख्यात बनाउन प्रयास गर्ने विश्वास पनि व्यक्त गरे। एम्बाप्पेले फुटबल खेल्ने मात्र नभई फ्रान्स र लिग वानलाई प्रख्यात बनाउने लक्ष्य समेत राखेको खिलाफीले बताए। खिलाफीका अनुसार एम्बाप्पेले निश्चय नै ब्यालोन डी’ओर जित्छन्।
उनले भने,”उनी राम्रो मान्छे मात्र नभई राम्रो खेलाडी पनि हुन्। आउने वर्षमा उनले ब्यालोन डी’ओर जित्नेछन्। र म यो कुरामा शतप्रतिशत ढुक्क छु।”

