रियल गएदेखि भाग्यले हाजार्डको साथ छाडेकै हो त ?

एजेन्सी – बेल्जियम टिमका प्रशिक्षक रोबर्टो मार्टिनेजले बेल्जियम तथा रियल म्याड्रिडका खेलाडी इडन हाजार्डलाई भाग्यले साथ नदिएको बताएका छन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा मार्टिनेजले हाजार्डको रियल बसाई बारे टिप्पणी गर्दै म्याड्रिड पुगेपछि हाजार्डलाई भाग्यले साथ दिन छाडेको बताए। हाजार्ड उत्कृष्ट खेलाडी भएपनि उनलाई पछिल्लो समय भाग्यले साथ नदिरहेको उनको भनाई छ।

“फुटबलमा ‘लक फ्याक्टर’को पनि कुरा हुन्छ। म्याड्रिड पुगेपछि उनलाई भाग्यले साथ दिएन।”,मार्टिनेजले भने,”हाजार्ड उत्कृष्ट खेलाडी भएको कुरा चेल्सीमा प्रमाणित गरिसकेका छन् । तर, रियलमा गएपछि भने उनलाई भाग्यले साथ नदिएकै हो।”

हाजार्ड आफूहरुका लागि धेरै नै महत्वपूर्ण खेलाडी रहेको पनि मार्टिनेजले बताए। हाजार्ड लयमा भएको खण्डमा सिङ्गो टिमको प्रदर्शनमा नै फरक प्रभाव पर्ने उनको भनाई छ।

चेल्सीको सफल बसाई पश्चात रियल म्याड्रिड पुगेका हाजार्डको प्रदर्शन खासै सन्तोषजनक छैन। हाजार्ड रियल गएदेखि नै लगातार घाइते भए। रियल गएयता उनले दुई सिजनमा ६० खेल गुमाइसकेका छन्। त्यसमध्ये ३२ खेल यसै सिजन गुमाएका हुन्। यसक्रममा उनले रियलका लागि ४३ खेल मात्र खेलेका छन्। जसमा ५ गोल गर्न सकेका छन् भने ८ असिस्ट दिएका छन्।

बेल्जियमको राष्ट्रिय टोलीमा सन् २००८ मा १७ वर्षको उमेर देखि सामेल भएका उनले अहिले सम्म १०७ खेल खेलेका छन्। उनले देशका लागि अहिले सम्म ३२ गोल गरेका छन्।

प्रकाशित : सोमबार, जेठ २४, २०७८२०:३९

जोर्डनकोविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, यस्तो छ प्लेयिंग ११ !