सुनिल क्षेत्रीले मेस्सीलाई उछिने, रोनाल्डोलाई पछ्याउँदै !

एजेन्सी – फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को छनोटमा भारतले पहिलो जित हात पारेको छ। सोमबार राति दोहास्थित जसिम विन हमाद स्टेडियममा भएको खेलमा बंगलादेशलाई पराजित गर्दे भारतले विश्वकप छनोटमा पहिलो जित निकालेको हो।

बंगलादेश २-० गोल अन्तरले पराजित हुँदा भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे। बंगलदेशलाई खेलको शुरुवातदेखि नै दवावमा राखेपनि भारतले बंगलदेशको रक्षापङ्तिलाई पहिलो हाफमा तोड्न सकेन।

पहिलो गोलका लागि भारतले ७९औं मिनेट सम्म कुर्नुपर्यो। ७९औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले हेडमार्फत गोल गर्दै भारतलाई अग्रता दिलाए। आशिकि कुरुनियानको क्रसलाई उनले गोलमा परिणत गरेका थिए। भारतका लागि दोस्रो गोल क्षेत्रीले ९०औं मिनेटमा गरे। सुरेश सिंहको पासमा पेनाल्टी बक्सबाहिरबाट क्षेत्रीले गोल गरेका थिए।

क्षेत्रीले मेस्सीलाई पछि पारे

सोमबार दुई गोल गरेसँगै उनको अन्तराष्ट्रिय गोल संख्या ७४ पुगेको छ। सोमबारको गोल पश्चात उनले अन्तराष्ट्रिय गोलसंख्यामा मेस्सीलाई पछि पारेका छन्।

अर्जेन्टिनी कप्तान मेस्सीले भने बिहिबार चिलीविरुद्ध गोल गर्दै गोलसंख्या ७२ पुर्याए पनि सोमबारको दुई गोलले क्षेत्रीलाई मेस्सी भन्दा अगाडी पुर्यायो। अन्तर्राष्ट्रिय फुटबल गोलसंख्याको हिसाबले क्षेत्री ११ औं स्थानमा छन्।

रोनाल्डोलाई पछ्याउँदै

सक्रिय फुटबल खेल्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा क्षेत्री दोस्रो स्थानमा रहेका छन्। सक्रिय फुटबल खेल्दै सर्वाधिक गोलकर्ताको सुचीमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोभन्दा मात्रै पछि छन् । रोनाल्डोको १ सय ३ गोल छ।

प्रकाशित : मङ्गलबार, जेठ २५, २०७८१२:०५

बार्सिलोना पछि रियललाई पीएसजीको झड्का, रियलको सपना चकनाचुर !