बार्सिलोना पछि रियललाई पीएसजीको झड्का, रियलको सपना चकनाचुर !

एजेन्सी – फ्रेन्च स्टार फरवार्ड किलियन एम्बाप्पेलाई भित्र्याउने रियल म्याड्रिडको योजना असफल भएको छ। एक स्पेनिस मिडियाका अनुसार एम्बाप्पे भित्र्याउने रियलको योजना अन्ततः असफल भएको हो।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी)ले एम्बाप्पेलाई बिक्रि गर्ने कुनै पनि योजना नबनाएसँगै एम्बाप्पेलाई भित्र्याउने रियलको योजनामा ठूलो धक्का पुगेको स्पेनिस पत्रिका एएसले जनाएको छ।

केहि दिन अगाडी मात्रै पेरिस सेन्ट जर्मेन(पीएसजी)का अध्यक्ष नासेर अल-खिलाफीले एम्बाप्पेलाई कुनै पनि हालतमा बिक्रि नगर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। एक अन्तर्वार्ताका क्रममा उनले एम्बाप्पेलाई बिक्री पनि नगर्ने र उनी फ्री ट्रान्सफरमा पनि उपलब्ध नहुने बताएका थिए। एम्बाप्पेसँग छिट्टै सहमति हुने उनको विश्वास थियो।

अल-खिलाफीको यस्तो दृड अभिव्यक्तिसँगै एम्बाप्पे भित्र्याउने रियलको प्रयास असफल भएको भनेर बुझ्नुपर्ने एएसको विश्लेषण छ। यस समर ट्रान्सफर विन्डोमा एम्बाप्पे भित्र्याउन आफूहरु असफल भएको निष्कर्ष रियल म्याड्रिड आफैंले पनि निकालिसकेको एएसले जनाएको छ।

बाधक बन्यो पारिश्रमिक

एम्बाप्पेलाई क्लबमै अड्याउन पीएसजीले सक्दो प्रयास गरिरहेको छ। उसले एम्बाप्पेलाई लोभलाग्दो पारिश्रमिक प्रस्ताव गरेको फ्रेन्च संचार माध्यमहरु दावी गर्छन्। एक रिपोर्टका अनुसार पीएसजी एम्बाप्पेलाई ४० मिलियन युरो वार्षिक पारिश्रमिक दिन तयार छ। पीएसजीले एम्बाप्पेलाई प्रस्ताव गरेको पारिश्रमिक दिन सक्ने अवस्थामा रियल छैन। त्यसकारण पनि एम्बाप्पे भित्र्याउने योजना देखि रियल ब्याक भएको बताइन्छ।

आर्थिक रुपमा धेरै नै सवल रहेको पीएसजी क्लब ट्रान्सफर मार्केटमा युरोपका ठूला कहलिएका क्लबहरु माथि भारी परिरहेको छ। केहि दिन देखि आइरहेको खबरका अनुसार बार्सिलोना जाने भनेर चर्चा गरिएका जर्जिनियो विज्नाल्डलाई पीएसजीले हाइज्याक गरिसकेको छ।

पीएसजी विज्नाल्डमलाई बार्सिलोना भन्दा दोब्बर बढी पारिश्रमिक दिन तयार भएको बताइन्छ। पीएसजीले विज्नाल्डमलाई बार्सिलोना भन्दा दोब्बर बढी पारिश्रमिक दिने प्रस्ताव विज्नाल्डम पक्ष समक्ष राखिसकेको विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

प्रकाशित : मङ्गलबार, जेठ २५, २०७८१५:३८

विज्नाल्डम फुत्किएपछि तर्सियो बार्सिलोना, अर्का खेलाडी माथि फास्टट्रयाकबाट सम्झौता गर्दै !