विज्नाल्डम फुत्किएपछि तर्सियो बार्सिलोना, अर्का खेलाडी माथि फास्टट्रयाकबाट सम्झौता गर्दै !

एजेन्सी – लिभरपुलका खेलाडी जर्जिनियो विज्नाल्डमलाई फ्री ट्रान्सफरमा भित्र्याउने योजना फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी) असफल बनाइदिएपछि स्पेनिस क्लब बार्सिलोना अन्य खेलाडीको खोजिमा जुटेको छ।

पछिल्लो खबरका अनुसार बार्सिलोनाले डच फवार्ड मेम्फिस डिपेलिई अनुबन्धन गर्ने प्रयास गरेको छ। डिपे गत वर्ष देखि नै बार्सिलोनाको नजरमा रहेका खेलाडी हुन्।

विज्नाल्डम फुत्किएपछि आत्तिएको बार्सिलोनाले डिपेलिई सक्दो छिटो अनुबन्धन गर्न चाहेको विभिन्न संचार माध्यमहरुले जनाएका छन्। खबरका अनुसार बार्सिलोनाले डिपेसँग केहि दिन भित्रै सम्झौता गर्ने तयारी गरिरहेको छ।

बार्सिलोनाले डिपेलाई सन् २०२४ सम्मको सम्झौता प्रस्ताव गरेको ट्रान्सफर मार्केटका जानकारहरु बताउँछन्। बार्सिलोनाले डिपेसँग फास्टट्रयाकबाट सम्झौता गर्ने तयारी गरिरहेको बताइन्छ।

यूरोपीयन च्याम्पियनशिप शुरु हुनु भन्दा अगाडी नै डिपेसँग सम्झौता गर्ने पक्षमा बार्सिलोना छ। फ्रेन्च क्लब लियोनमा लगातार उच्च तहको प्रदर्शन गर्न सफल डिपेको यहि महिना सम्झौता सकिँदैछ। यस्तोमा उनी फ्री ट्रान्सफरमा उपलब्ध हुनेछन्। फ्री ट्रान्सफरमा उपलब्ध हुने हुँदा आर्थिक भार कम पर्ने भएका कारण क्लबहरु यस्ता खेलाडीहरुलाई धेरै नै प्राथमिकतामा राख्छन्।

पछिल्लो समय चरम आर्थिक समस्याबाट गुज्रिरहेको बार्सिलोनाले पनि फ्री ट्रान्सफरमा उपलब्ध हुने खेलाडीहरुलाई प्राथमिकतामा राखिरहेको छ। केहि दिन अगाडी बार्सिलोनाको तर्फबाट जर्जिनियो विज्नाल्डमलाई क्लबमा ल्याउन प्रयास भएको थियो। तर, उक्त प्रयास पीएसजीका कारण असफल भएको थियो।

प्रकाशित : मङ्गलबार, जेठ २५, २०७८१९:५८

पोर्चुगलको सहज जितमा रोनाल्डोको गोल !