पोर्चुगलको सहज जितमा रोनाल्डोको गोल !

एजेन्सी – युरोपेली च्याम्पियनसिपअघिको अन्तिम तयारी खेलमा पोर्चुगलले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा पोर्चुगलले इजरायलमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो ।

लिस्वनमा बुधबार राति भएको खेलमा पोर्चुगलको फराकिलो जितमा म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेसले दुई तथा युभेन्टसका स्टार फरवार्ड तथा कप्तान क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर सिटीका जोओ क्यान्सिलोले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान २–२ गोल भएको थियो ।

खेलको सुरुवातदेखि नै इजरायललाई दवावमा राखेपनि पोर्चुगलले गोलको लागि पहिलो हाफको अन्तिम समय कुर्नुपरेको थियो । खेलको पहिलो मिनेटमा नै रोनाल्डोको प्रहारलाई इजरायलका गोलरक्षक मार्सियानोले सहजे नियन्त्रणमा लिए । १०औं मिनेटमा बर्नाडो सिल्भाको पासमा डिएगो जोटाको प्रहार क्रसबार नजिकैबाट थोरै बाहिरिदा पोर्चुगल अग्रता लिनबाट चुक्यो ।

१६औं मिनेटमा ब्रुनो फर्नान्डेस र रुवेन नेभेसको प्रहारमा गोलरक्षक मार्सियानो नै बाधक बने । ३६औं मिनेटमा रोनाल्डोको भली प्रहारलाई गोलरक्षक मार्सियानोले विफल पार्दा डिफेन्डर मिनाचेमले क्लियर गर्दै पोर्चुगललाई निराश पारे । एकपछि अर्काे आक्रमण विफल भएपनि पोर्चुगलले जोओ क्यान्सिलोको पासमा ब्रुनो फर्नान्डेसको गोलबाट अग्रता लिन सफल भयो ।

त्यसको दुई मिनेटपछि नै ब्रुनोको पासमा कप्तान रोनाल्डोले गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ५६औं मिनेटमा इजरायलका इरान जाहवीको प्रहारलाई विलियम कार्भाल्होले ब्लक गरिदिए । ५९औं मिनेटमा बर्नाडो सिल्भाले सुवर्ण अवसर खेर फाले । ८०औं मिनेटमा जहावीले क्लोज रेन्जबाट गरेको प्रहारलाई क्रसबारबाट थोरै बाहिरिदा इजरायलले गोल अन्तर घटाउन सकेन ।

८६औं मिनेटमा गोन्कालो गुइडेसको पासमा जोओ क्यान्सिलोले गोल गर्दै पोर्चुगललाई जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ब्रुनो फर्नान्डेसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए ।

अब समूह ‘एफ’ मा रहेको साविकको विजेता पोर्चुगलले १५ जुनमा हंगेरीसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ । १९ जुनमा जमैनी तथा २३ जुनमा फ्रान्सको सामना गर्नेछ । युरोमा छनोट हुन असफल इजरायल सेप्टेम्वरमा विश्वकप छनोटमा होमिनेछ ।

प्रकाशित : बिहिबार, जेठ २७, २०७८०९:५६

रियल र बार्सिलोनालाई हालाण्डको झड्का, म्यानचेस्टर सिटि र युनाइटेडको सपना पनि चकनाचुर !