अन्ततः एम्बाप्पेले पीएसजीको भविष्य बारे मुख खोले ! के भने ?

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पीएसजी)का स्टार फरवार्ड किलियन एम्बाप्पेले आफू क्लबमा रहने अथवा नरहने बारे निर्णय गर्न हतार नगर्ने बताएका छन्।

फ्रान्स फुटबलसँग कुराकानी गर्नेक्रममा एम्बाप्पेले सहि निर्णय गर्नुपर्ने भएकाले आफू तत्काल निर्णय गर्ने पक्षमा नरहेको बताएका हुन्। एम्बाप्पेले समय आएपछि आफूले निर्णय गर्ने बताए।

“हतार गर्नुपर्ने अवस्थामा छैन र म गर्दिन पनि। मैले सहि निर्णय गर्नुपर्ने हुन्छ। गार्हो भए पनि मैले धेरै सोचेर आफ्नो भविष्य बारे निर्णय गर्नेछु।’,एम्बाप्पेले फुटबल फ्रान्ससँग भने।

क्लब र आफू बीच राम्रो समझदारी रहेको पनि एम्बाप्पेले बताए। आफू हुँदा र नहुँदा क्लबको प्रोजेक्टमा के कस्तो असर पर्छ भन्ने आफूले राम्रोसँग बुझेको एम्बाप्पेको भनाई छ।

एम्बाप्पेले भने,”म हुँदा र नहुँदा क्लबको प्रोजेक्ट एकै हुँदैन भन्ने मैले बुझेको छु। क्लबले पनि मेरो भावना बुझ्छ। सायद किनभने उनीहरू जान्दछन् कि म लुक्ने छैन, भाग्ने छैन।”

पीएसजीमा आफूले राम्रो अनुभव गरिरहेको एम्बाप्पेको भनाई छ। तर, पीएसजी नै आफ्नो लागि उत्कृष्ट क्लब हो कि होइन भन्नेमा भने आफू निर्णयमा पुगिनसकेको एम्बाप्पेले बताए।

उनले भने,”म धेरै राम्रो ठाउँमा छु। मलाई यहाँ धेरै राम्रो लागिरहेछ। तर, के यो नै मेरा लागि उत्कृष्ट ठाउँ हो त ? यसको उत्तर भने मसँग छैन।”

एम्बाप्पेको भविष्य

लामो समय देखि एम्बाप्पेको भविष्य फुटवल वृत्तमा चासोको विषय बनिरहेको छ। उनी पीएसजी मै रहने अथवा अन्यत्र जाने टुंगो नलाग्दा विभिन्न अड्कलबाजी चल्ने गरेका छन्।

उनी रियल जाने चर्चा चल्दै आएपनि यस ट्रान्सफर विन्डोमा उनको ट्रान्सफर असम्भव हुने पक्का जस्तै भइसकेको छ। विभिन्न रिपोर्टहरुले एम्बाप्पेलाई भित्र्याउने रियल म्याड्रिडको योजना असफल भएको दावी गरिरहेका छन्।

प्रकाशित : शनिबार, जेठ २९, २०७८१५:३३

पीएसजी र युभेन्टसको चेपुवामा बार्सिलोनालाई, ठूलो योजना असफल हुने सम्भावना !