एजेन्सी – युरोपेली च्याम्पियनसिपको पहिलो खेलमा हंगेरीविरुद्ध खेल्दै र दुई गोल गरेपछि पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले युरोकपमा एकैपटक तीन नयाँ कीर्तिमान बनाएका छन् ।
हंगेरीविरुद्ध मैदानमा उत्रदै लगातार पाँचौ सिजन युरोकप खेल्ने कीर्तिमान बनाएका रोनाल्डोले मिचेल प्लाटिनीको ९ गोलको कीर्तिमानलाई भंग गर्दा युरोकपमा सर्वाधिक गोल (११) गर्ने कीतिमान आफ्नो नाममा लेखाए ।
यस्तै उनी युरोकपको पाँच फरक संस्करणमा गोल गर्ने एक्ला खेलाडी बनेका छन् । रोनाल्डोले २००४ को संस्करणमा २, २००८ मा २, २०१२ र २०१६ मा समान ३–३ गोल गरेका थिए । यसपटक पहिलो खेलमै दुई गोल गरेका छन् ।
युरोकपमा उनको नाममा धेरै खेल (२२) खेल्ने, धेरै (१२) जित निकाल्ने लगायत थुप्रै कीर्तिमानहरु रहेको छ । हंगेरीविरुद्ध दुई गोल गरेपछि रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या १०६ पुर्याएको छ । उनी अब सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अली दाई भन्दा तीन गोलले मात्रै पछि छ । अली दाईले १०९ गोल गरेका छन् ।
६१ हजार दर्शकमाँझ खेलिएको खेलमा पोर्चुगलले घरेलु टोलीविरुद्ध लगातार पोस्ट आक्रमण बुनेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ८४औं मिनेटमा राफयल गुरेरोले गोल गर्दै गोलको खडेरी तोडेका थिए । त्यसपछिको दुवै गोल रोनाल्डोको नाममा रह्यो । उनले ८७औं मिनेटमा पेनाल्टीमार्फत र इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गरेका थिए ।

