एजेन्सी – शनिबार कोपा अमेरिकाको ४७ औं संस्करण अन्तर्गतका दुई खेल हुँदैछ। समूह ‘बि’का चार देशबीच शनिबार बिहान प्रतिष्पर्धा हुनेछ। शनिबार हुने पहिलो खेलमा चिली र बोलिभिया बीच प्रतिष्पर्धा हुनेछ। खेल शनिबार बिहान २ बजेर ४५ मिनेटमा शुरु हुनेछ।
चिली समूहको तेस्रो स्थानमा छ। चिलीले पहिलो खेलमा अर्जेन्टिनालाई बराबरीमा रोकेका थिए। पहिलो हाफमा एक गोल गरेको अर्जेन्टिना विरुद्ध दोस्रो हाफमा गोल फर्काएर एक अंक बटुल्न सफल भएको थियो।
बोलिभिया भने समूहको पुछारमा छ। प्रतियोगिताको पहिलो खेलमा बोलिभिया पाराग्वेसँग पराजित भएको थियो। पाराग्वेले तीन गोल गर्दा बोलिभिया मात्र एक गोल गर्न सफल भएको थियो। चिली र बोलिभिया बीचको खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैनन्। खेल भारतीय च्यानल सोनी टेन २ले प्रतक्ष्य प्रशारण गर्नेछ।
त्यस्तै शनिबार बिहान हुने दोस्रो खेलमा अर्जेन्टिना र उरुग्वे भिड्नेछ। खेल बिहानको ५ बजेर ४५ मिनेटमा शुरु हुनेछ। दुई देश आमने सामने हुँदा अर्जेन्टिना प्रतियोगिताको दोस्रो खेल खेल्नेछ भने उरुग्वे प्रतियोगिताको पहिलो खेल खेल्नेछ। अर्जेन्टिनाका लियोनेल मेस्सी र उरुग्वेका लुइस सुआरेज एकपटक पुनः आमनेसामने हुँदा खेल रोचक हुनेछ।
प्रतियोगिताको पहिलो खेलमा अर्जेन्टिना चिलीसँग बराबरीमा रोकिएको थियो। कप्तान लियोनेल मेस्सीले अग्रता दिलाएपनि त्यसलाई जोगाउन नसकेपछि अर्जेन्टिनाले चिलीसंग बराबरी खेलेको थियो। अर्जेन्टिना र उरुग्वे बीचको खेल पनि नेपाली च्यानलबाट प्रशारण हुनेछैन । खेल भारतीय च्यानल सोनी टेन २ ले नै प्रतक्ष्य प्रशारण गर्नेछ।

