रोनाल्डोलाई बार्सिलोनामा ल्याण्ड गराउने लापोर्टाको योजना ! सफल होला त ?

एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई बार्सिलोनामा भित्र्याउने योजना बनाएका छन्। विभिन्न संचार माध्यमहरुका अनुसार लापोर्टा रोनाल्डो र लियोनेल मेस्सीलाई एक साथ बार्सिलोनामा खेलाउने योजना सहित अगाडी बढेका हुन्।

हाल सिरी ‘ए’ क्लब युभेन्टसमा अनुबन्धित रोनाल्डो क्लबमा रहन अनुच्छुक छन्। विभिन्न कारणहरुले गर्दा उनी क्लब छाड्न चाहिरहेका छन्। यहि मौका छोपी लापोर्टाले रोनाल्डोलाई बार्सिलोनामा भित्र्याउने योजना बनाएको बताइन्छ।

पछिल्लो खबरका अनुसार लापोर्टा र रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेससँग लगातार छलफल भैरहेको छ। दुई बीच रोनाल्डोलाई बार्सिलोनामा कसरी ल्याण्ड गराउने भन्ने विषयमा छलफल भएको विभिन्न संचार माध्यमहरु दावी गर्छन्। यधपी यस विषयमा रोनाल्डो र उनका एजेन्ट बीच सिधा कुराकानी भने भएको छैन।

लापोर्टा रोनाल्डोलाई अनुबन्धित गर्न ठोस योजना सहित अगाडी बढेको बताइन्छ। उनले एन्टोइन ग्रिजमन र फिलिपे कोउटिन्होस लगायतका खेलाडीहरु सहितको प्रस्ताव युभेन्टस सामू राख्ने तयारी गरिरहेका छन्। तर, लापोर्टाको योजनामा रोनाल्डोको मोटो पारिश्रमिक बाधक बन्ने देखिएको छ। युभेन्टसमा रोनाल्डोले राम्रो पारिश्रमिक बुझ्दै आएका छन्, जुन तिर्न बार्सिलोना हालको अवस्थामा असमर्थ देखिन्छ।

एन्टोइन ग्रिजमन र फिलिपे कोउटिन्हो दुवैबाट छुटकारा पाउँदा बच्ने पारिश्रमिकबाट रोनाल्डोलाई पारिश्रमिक दिन सकिने अवस्था भएको खण्डमा रोनाल्डोलाई जसरी पनि बार्सिलोना भित्र्याउने पक्षमा लापोर्टा छन्।

मेस्सी र रोनाल्डो एक साथ बार्सिलोनामा भएको खण्डमा क्लबको आम्दानि दोब्बर हुने लापोर्टाको विश्लेषण छ। रोनाल्डो बार्सिलोनाको प्रतिद्वन्दी क्लब रियल म्याड्रिडका लेजेन्ड भएका कारण रोनाल्डो सहजै बार्सिलोना आउने सम्भावना भने कमै देखिन्छ। लापोर्टाको योजना कति सफल हुन्छ भन्ने कुरा भने समयले नै बताउनेछ ।

प्रकाशित : सोमबार, असार ०७, २०७८२०:४९

पाँच टोली नकआउट चरणमा ! कुन-कुन ?