पोर्चुगल भर्सेस फ्रान्स: कसले मार्ला बाजी ? यसो भन्छ इतिहास !

एजेन्सी – युरोपेली च्याम्पियनसिप समूह चरणमा आज सबै भन्दा कठिन मानिएको समूह ‘एफ’का दुई खेल हुँदैछ। नेपाली समयअनुसार राति १२ः४५ बजे जर्मनी र हंगेरी तथा पोर्चुगल र फ्रान्स आमनेसामने हुनेछन्।

युरोपेली च्याम्पियनसिपको पछिल्लो संकरणको फाइनलमा भिडेका पोर्चुगल र फ्रान्स बीचको खेलमा आज सबैको ध्यान हुनेछ। फ्रान्स सन् २०१६ को युरो फाइनलमा बेहोरेको हारको बदला लिँदै शिर्ष स्थानमा उक्लने पक्षमा हुनेछ भने पोर्चुगल फ्रान्सलाई पाखा लगाउने पक्षमा हुनेछ।

फ्रान्स भर्सेस पोर्चुगल, के भन्छ इतिहास ?

फ्रान्स र पोर्चुगल अहिले सम्म २७ पटक आमनेसामने भएका छन्। त्यसमा पोर्चुगलले मात्र ६ खेलमा जित निकाल्न सफल भएको छ। फ्रान्सले भने पोर्चुगल विरुद्ध १९ खेलमा जित निकालेको छ। त्यस्तै २ खेलमा भने बराबरी भएको छ।

पछिल्लो पटक यी दुई देश नेसन्स लिग अन्तर्गत ११ अक्टोबर २०२० मा आमनेसामने भएका थिए। त्यसखेलमा फ्रान्स १-० ले विजयी भएको थियो। त्यस खेल भन्दा अगाडी सन् २०१६ को युरो फाइनलमा फ्रान्स र पोर्चुगल बीच भेट भएको थियो।

पोर्चुगलले अतिरिक्त समयमा फ्रान्स विरुद्ध गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा पहिलो उपाधि जितेको थियो । उक्त खेलमा एडरले गोल गरेका थिए। रोनाल्डो घाइते हुँदै २५ मिनेटमा मैदानबाट बाहिरिए पनि पोर्चुगल फ्रान्सलाई पाखा लगाउन सफल भएको थियो। त्यसक्रममा फ्रान्स तेस्रो पटक युरो जित्ने अवसरबाट वन्चित भएको थियो।

प्रकाशित : बुधबार, असार ०९, २०७८१५:०८

रोनाल्डोले तोडे अर्को रेकर्ड, अर्को रेकर्डमा भने बराबरी !