मेस्सी अब रहेनन् बार्सिलोनाका खेलाडी, भए क्लब बिहिन !

एजेन्सी – अर्जेन्टिनी फुटबल सुपर स्टार लिओनल मेस्सीको बार्सिलोनासँगको सम्झौता अन्त्य भएको छ । २० वर्षभन्दा लामो समय बार्सिलोनाका हिस्सा रहेका मेस्सी जुन ३० को मध्यरातबाट क्लब बिहिन भएका हुन् । उनी निरन्तर ७ हजार ५ सय ४ दिन बार्सिलोनाको खेलाडी रहे ।

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले पुरानो सम्झौता सकिनुअघि नै मेस्सीलाई सम्झौता नविकरणका लागि बारम्बार प्रयास गरेपनि सफल हुन सकेनन् । तर त्यसको अर्थ मेस्सीले क्लबमा फेरि सम्झौता गर्दैनन् भन्ने होइन। बार्सिलोना मेस्सीसँग नयाँ सम्झौता हुनेमा अझै पनि आशावादी रहेको बताइएको छ । उनले बार्सिलोनाको जर्सीमा पुन देखिनका लागि नयाँ सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा भने गरिएको छ । तर, अहिलेको अवस्थामा भने मेस्सी बार्सिलोनाका खेलाडी रहेनन् ।

लापोर्टा र मेस्सीका एजेन्ट समेत रहेका उनका पिताबीच सम्बन्ध राम्रो रहेकोले पनि नयाँ सम्झौता हुने विश्वास गरिएको छ । नयाँ सम्झौताका बारेमा चाँडै टुंगो लाग्ने, सम्भवत केहि दिनमै सम्झौता हुने बताइएको छ ।

लापोर्टाले मेस्सीसँग चाँडै नयाँ सम्झौता हुने भन्दै समर्थकलाई बुझाउने प्रयास गरिरहेका छन् । उनी मेस्सी बार्सिलोनाका खेलाडी होइनन् भन्ने परिस्थिति नै नआओस् भन्नेमा प्रयासरत पनि थिए । मेस्सी नहुँदा त्यसले क्लबको प्रायोजनमा पनि समस्या हुने देखिएको छ ।

जस्तै नाइकले बार्सिलोनाको नयाँ सिजनका लागि जर्सी सार्वजनिक गर्दा त्यसमा मेस्सी छैनन् । मेस्सी बार्सिलोना बस्ने पक्का नभएको अवस्थामा अन्य केहि प्रायोजकले भने सम्झौता नविकरण नगर्ने सम्भावना रहेको छ ।

प्रकाशित : शुक्रबार, असार १८, २०७८१५:१२

पीएसजीलाई सुझाव: “क्लबसँग सम्झौता नवीकरण नगरे एम्बाप्पेलाई पूरा सिजन मैदान बाहिर नै राख्दिए हुन्छ”