युरो गोल्डेन बुट: केनले रोनाल्डोलाई पछि पार्लान् त ?

एजेन्सी – युरोपको ११ शहरमा एक महिनादेखि जारी १६औं संस्करणको युरोपेली च्याम्पियनसिप २०२० को अब फाइनल खेल मात्रै बाँकी छ । फाइनलमा इटाली र इंग्ल्यान्डले ११ जुलाईमा बेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् । सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुुटआउटमा ४–२ ले पराजित गर्दै चौथो पटक फाइनलमा स्थान पक्का गर्दा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले हराउँदै पहिलोपटक युरोको फाइनलमा पुग्न सफल भएको हो ।

उपाधि दौडसँगै युरोपियन गोल्डेन बुटको दौड पनि रोमाञ्चक बनेको छ । युरोको फाइनल खेल मात्रै बाँकी रहँदा केही खेलाडी युरोपियन गोल्डेन बुटको दौडमा उभिएका छन् । सेमिफाइनलमा डेनमार्कविरुद्ध एक गोल गरेपछि इंग्ल्यान्डका ह्यारी केनले गोल्डेन बुटको दौडमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो र चेक रिपब्लिकका प्याट्रिक सिकलाई पछ्याइरहेका छन् ।

अहिलेको अवस्थामा रोनाल्डो नै युरोपियन गोल्डेन बुटको दौडमा अगाडि छन् । उनले युरोको चार खेलमा ५ गोल र एक असिस्ट दिएका छन् । दोस्रोमा रहेका चेकका प्याट्रिक सिकले ५ खेलमा ५ गोल गरेका छन् ।

एक खेल हातमै रहेको अवस्थामा ह्यारी केनले ६ खेलमा चार गोल गरेका छन् । केनसँगै चार गोल गर्नेमा फ्रान्सका करिम बेन्जेमा, स्वीडेनका इमिल फोर्सवर्ग र बेल्जियमका रोमेलु लुकाकु रहेका छन् । फाइनलमा इटालीविरुद्ध गोल गर्न सके उनले यी तीनै खेलाडीलाई उछिन्न सक्नेछन् । असिस्ट पनि दिन सके उनले गोल्डेन बुट जित्न सक्ने सम्भावना रहेको छ । यो गोल्डेन बुटको दौडमा इंग्ल्यान्डका रहिम स्टर्लिङ पनि रहेका छन् । उनले ६ खेलमा ३ गोल र १ असिस्ट दिएका छन् ।

एक भन्दा बढी खेलाडीको गोल बराबरी भएको अवस्थामा युइएफएले असिस्टको आधारमा विजेता निर्धारण गर्ने गर्दछ । गोल र असिस्ट पनि बराबरीको अवस्थामा कम समयको खेलको आधारमा गोल्डेन बुट प्रदान गरिन्छ । यसरी हेर्दा रोनाल्डोले गोल्डेन बुट जित्ने सम्भावना प्रवल छ । रोनाल्डोलाई पछि पारेर केन र स्टर्लिङलाई गोल्डेन बुट जित्न फाइनलमा इटालीविरुद्ध दुई तथा तीन गोल गर्नुपर्ने हुन्छ ।

सर्वाधिक गोलकर्ताको सुचीमा रोनाल्डो अघि रहँदा सर्वाधिक असिस्ट दिनेमा स्विट्जरल्यान्डका स्टेभन जुवेर अघि रहेका छन् । उनको चार खेलमा ४ असिस्ट रहेको छ ।

प्रकाशित : बिहिबार, असार २४, २०७८१३:४६

“मेस्सीले ब्यालुन डी ओर २०२१ जिते गलत हुनेछ, कान्तेले जित्नुपर्छ”