एकसाथ तीन कम्पनीलाई आइपिओ निष्कासनको अनुमति ? कुन-कुन, कति-कति कित्ता ?

काठमाडौँ – नेपालका तीन कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्ने अनुमति पाएका छन्। नेपाल धितोपत्र बोर्डले तीन कम्पनीलाई आइपिओ जारी गर्न अनुमति दिएको हो।

आइपिओ जारी गर्ने अनुमति पाउने कम्पनीहरुमा मानुषी लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्स र सामलिङ पावर कम्पनी रहेका छन्। बोर्डले तीनै कम्पनीलाई असार ३१ गते आइपिओ जारी गर्ने अनुमति दिएको हो।

कुन कम्पनीको कति कित्ता ?

मानुषी लघुवित्त

हाल मानुषी लघुवित्तको चुक्तापूँजी रू. ७ करोड रहेको छ। मानुषी लघुवित्तले २०७८ वैशाख १३ गते बोर्डसँग सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्नका लागि अनुमति माग गरेको थियो। बोर्डले दिएको अनुमति अनुसार रू. ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ निष्कासन गर्न पाउनेछ। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

सानिमा लाईफ इन्स्योरेन्स

सानिमा लाईफ इन्स्योरेन्सको चुक्तापूँजी हाल रू. १ अर्ब ४० करोड रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्नका लागि कम्पनीले आइपिओ जारी गर्न बोर्डसँग अनुमति माग गरेको थियो। बोर्डले सानिमा लाईफ इन्स्योरेन्सलाई रू. ६० करोड बराबरको ६० लाख कित्ता आइपिओ जारी गर्ने अनुमति दिएको छ। कम्पनीको आइपिओ बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

सामलिङ पावर कम्पनी

कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजना सम्पन्न गर्नका लागि कम्पनीले आइपिओ जारी गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले १२ लाख ३० हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीको आइपिओ बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

प्रकाशित : सोमबार, साउन ०४, २०७८१५:४३

आज चाँदी यस वर्षकै सस्तो, सुनको मूल्य भने बढ्यो !