दुई कम्पनीको आइपीओ खुल्ला ! कसले-कसले आवेदन दिन पाउँछ ?

काठमाडौँ – दुई जलविद्युत कम्पनीले साधारण सेयर(आइपीओ)निष्काशन तथा बिक्री खुल्ला गरेका छन्। तेह्रथुम पावर कम्पनी लिमिटेड र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजबाट साधारण सेयर(आइपीओ)निष्काशन तथा बिक्री खुल्ला गरेका हुन्।

दुवै कम्पनीको आइपीओ आयोजना प्रभावित जिल्लाका वासिन्दाहरुका लागि खुल्ला भएको हो। दुवै कम्पनीको आइपिओका लागि आयोजनाबाट प्रभावित भएका जिल्लाका सर्वसाधारणले मात्र आवेदन दिन सक्नेछन्।

तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यको ४ लाख कित्ता सेयर निष्काशन गरेको छ। तेह्रथुमका सर्वसाधारणले कम्तीमा १० कित्ता र अधिकतममा ६० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

तेह्रथुम जिल्लाका बासिन्दाहरुले माछापुच्छ्रे बैंक धनकुटा शाखा, नेपाल बङ्गलादेश बैंकको संक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरी खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका तेह्रथुमबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार निष्काशन बन्द छिटोमा साउन १९ गते हुनेछ। यदि तोकिएको अवधिभित्र पूर्ण आवेदन नपरेको खण्डमा निष्काशन अवधि भदौ २ गतेसम्म लम्ब्याइने छ।

त्यस्तै आजबाट मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर(आइपीओ) निष्काशनका लागि पनि आवेदन दिन सकिनेछ। ६० लाख कित्ता मध्ये १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको छ। आवेदन दिने व्यक्ति आयोजना प्रभावित जिल्ला सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका वडा नम्बर १ र ५, बाह्रबिसे नगरपालिका वडा नम्बर ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नम्बर ७ र ८ का स्थायी बासिन्दा हुनुपर्नेछ।

त्यस्तै बाँकी ४२ लाख कित्ताका लागि सिन्धुपाल्चोक जिल्लाका बासिन्दाले आवेदन दिन सक्नेछन्। ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्ने भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ।

आवेदन साउन १७ गतेसम्म दिन सकिनेछ। पूरा आवेदन नपरेको खण्डमा आवेदन दिने अवधि साउन ३२ गतेसम्म लम्ब्याइने छ।

प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८१३:१२

आज फेरी घट्यो सुनको मुल्य, धेरै दिनपछि सुनको मुल्य सस्तो!