ओलीले भने – ‘म एकताको मोही अझै मथ्दै छु’

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवन र कम्युनिष्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरेका छन् ।

केन्द्रीय कमिटीको जारी १० पूर्ण बैठकको तेस्रो दिन आज अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्न आफू तत्पर रहेको स्पष्ट पारे।

सर्वोच्च अदालतको फैसला संसदीय व्यवस्थानुकूल नभएको टिप्पणी गर्दै जनताको चाहनालाई कुल्चेर केही नेताले गद्दारी गरेकाले आफ्नो नेतृत्वको सरकार ढलेको बताए।

“मसँग अब अरु आग्रह छैन । म एकताको मोही अझै मथ्दै छु । सकभर सत्ता गठबन्धनमा लागेका सबै पार्टीका नेतालाई आफ्नो राजनीतिक जीवन बचाउन अनुरोध गर्छु”, अध्यक्ष ओलीले बैठकमा भने।

पार्टीको नीतिविपरीत नेपाली काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोधेको एमालेले त्यसबारे जवाफ आएपछि निर्णय गर्ने प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी सो पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायत विषय कार्यसूची रहेका छन् ।

आजको बैठकले संविधानको धारा ७६ (५) को सरकार बनाउँदा दलीय ह्विप नलाग्ने फैसला गरेकाले उक्त दफालाई संशोधन गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए।

बैठकले ओली नेतृत्वको सरकारले विविध चुनौतीका बीच विकास र समृद्धिका पक्षमा उपलब्धि हासिल गरेको र प्रतिपक्षमा रहेर संविधान, लोकतन्त्र र राष्ट्रियताका सम्बन्धमा सशक्त र प्रभावकारी काम गर्ने निर्णय गरेको छ । नेता ज्ञवालीले हालको स्थितिबाट निराश नहुन कार्यकर्तालाई आग्रह गर्दै पार्टीको शक्ति पुनःफर्काइने जनाए। अर्को बैठक बिहीबार दिउँसो ३ बजे पुनःबस्नेछ ।

पुष्पलाल स्मृति दिवस मनाइँदै

एमालेले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने भएको छ । अध्यक्ष ओलीको प्रमुख आतिथ्यतामा कायक्रम आयोजना गरी मनाइने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रकाशित : बुधबार, साउन ०६, २०७८२१:४५

अन्ततः माधव नेपाललाई अध्यक्ष बनाउन ओली तयार !