ललिता निवास जग्गा प्रकरणका ३२ दोषी अझै फरार, मुख्य बिचौलिया नै बेपत्ता !

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा किनबेच गरेर भ्रष्टाचार मुद्दामा मुछिएका मुख्य बिचौलिया अझै फरार रहेका छन् । फरार हुनेमा मुख्य बिचौलिया रामकुमार सुवेदीसहित ३२ जना छन् । अदालतले म्याद गुजारेर उपस्थित नहुनेको हकमा मुद्दा पेसी चढाएर प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

पटकपटक म्याद जारी गर्दा पनि अटेर गरेपछि विशेष अदालत फरार रहेकाहरूको हकमा भ्रष्टाचार मुद्दाको पेसी चढाउने तयारीमा रहेको बुझिएको छ । फरार रहेकाहरूलाई इजलासको आदेशबाट एकपटक सार्वजनिक सूचना जारी गर्न लगाउने र सो प्रक्रिया गर्दा पनि अनुपस्थित भएमा मुद्दाको प्रक्रिया अगाडि बढाउने तयारी छ ।

विशेष अदालतले म्याद जारी गरेर पनि अनुपस्थित हुनेमा रामकुमार सुवेदी, हाटक शमशेर, शशिकला सुब्बा, विवेककुमार सुवेदी, रूपेश शमशेर राणा, हिमान्द्री शमशेर जबरा छन् । उनीहरूको घरमा म्याद तामेली (टाँस) गरिए पनि म्याद गुजारेका छन् । कान्छा महर्जन, मन्ती गोर्खाली, बद्रीलक्ष्मी श्रेष्ठको हकमा भने आफैंले र एकाघरका जहानले म्याद तामेली बुझे पनि उनीहरू समेत उपस्थित भएका छैनन् ।

लामो समय म्याद गुजारेर बसेका नेपाली कांगेसका उपसभापति विजयकुमार गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्ट मात्रै विशेष अदालतमा उपस्थित भएका थिए । गच्छदारलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । गच्छदारले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा काम गरेको विशेष अदालतमा बयान दिएका छन् ।

त्यस्तै फरार सूचीमा पुष्पराज उपाध्याय, अर्जुनप्रसाद भण्डारी, रुक्म शमशेर जबरा, हर्ष महर्जन, कैलाशचन्द्र गोयल, चमेली श्रेष्ठ, देवनारायण महर्जन, प्रमोद शेरचन, प्रतिमा वैद्य प्रधान, रामनाथ घिमिरे, निर्मला देवी गोयल, देवनारायण महर्जन, तीर्थमाया महर्जन, इन्दु शर्मा, अनिता देवी कंसाकार, मचाबाबु प्रजापति, कनक हर्बल, पञ्चनारायण महर्जन, लक्ष्मी ढाकाल, रजनी पनेरू, मचानानी महर्जन, रेना गुरुङको हकमा बेपत्ते तामेली टाँस गरिएको थियो । उनीहरू हालसम्म उपस्थित भएका छैनन् ।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८०८:४५

देउवाको रणनीति : नेताहरूलाई पद दिएर सभापति पुनः पड्काउने !