राजीनामा दिने घोषणा गरेका अल्मुताइरी भन्छन्,”नेपालमा भष्ट्राचारी सोच नै समस्या रहेछ”

काठमाडौँ – आइतबार नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन्। विश्वकप छनौटका लागि नेपालसँग आवद्ध भएका उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट हाल्दै आफूले राजीनामा दिने घोषणा गरेका हुन्।

सामाजिक संजाल मार्फत उनले राजीनामा दिन अखिल नेपाल फुटबल संघ (एन्फा) जान लागेको बताएका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङका कारण राजीनामा दिने मनस्थितिमा आफू पुगेको उनको भनाई थियो। नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको पनि अल्मुताइरीले फेसबुकमा उल्लेख गरेका थिए। उनले आधिकारिक रूपमा भने राजीनामा नदिएको बुझिएको छ।

उनले आफ्नो पछिल्लो अन्तर्वार्तामा नेपाल सरकारका साथै राष्ट्रिय टोली पनि भष्ट्राचारी रहेको समेत बताएका छन्। सबै मानिसको दिमागमा नराम्रो सोच मात्र भएकोले नै नेपाली फुटबल अगाडी बढ्न नसकेको उनको भनाई छ। उनले भने,”सजिलै भन्न सकिन्छ। यो र त्यो सरकार भष्ट्राचारी छ, राष्ट्रिय टोली भष्ट्राचारी छ। दिमागमा सबै कुरा नकारात्मक छ जसले सोच पनि नकारात्मक बनाएको छ। मलाई लाग्छ नेपालको सबैभन्दा ठूलो समस्या यहि हो। यसले हामीलाई अगाडी बढ्न दिँदैन।”

अल्मुताइरीले आफूले नेपालका लागि लड्ने र काम गर्ने पनि बताएका छन्। केहि नेपालीहरुले आफूलाई सफल हुन नदिन प्रयास गरिरहेको बताउँदै यो सफलता आफ्नो नभएर देशको सफलता भएको पनि बताए। “म एक नेपाली नागरिकको हिसाबले बोल्दै छु। म नेपालको लड्ने छु। केहि नेपालीसँग मलाई समस्या छ। उनीहरुले मेरो सफलता देख्न सक्दैनन्। तर यो मेरो नभएर नेपालको सफलता हुनेछ,” उनले भने,”प्रशिक्षकले केहि पाउँदैन। म नेपालको राष्ट्रपति बन्दिन। नेपाली टोलीमा सुधार आउनेछ र जीत आउनेछ। प्रशिक्षकले जित्ने छैन। नेपाल र सारा नेपालीले जित्नेछ।”

कतार फुटबल संघको सहयोगमा गत चैत देखि अलमुताइरी राष्ट्रिय टोलीको प्रशिक्षकमा छन्। साफ च्याम्पियन्सिपको तयारीका क्रम राष्ट्रिय टोलीलाई प्रशिक्षण दिरहेका अल्मुताइरीको राजीनामा दिने घोषणाले सबैलाई अचम्मित पारेको छ।

प्रकाशित : सोमबार, साउन ११, २०७८११:३९

रोनाल्डो फर्किए इटाली: युभेन्टसमै बस्ने, कतै नजाने निर्णय गरे !