सुपरस्टार क्रिकेटर शाहिद अफ्रिदीले इपिएल खेल्ने, काठमाडौं किंग्स एलेभेनसँग आवद्ध !

काठमाडौं – विश्व क्रिकेटका सुपरस्टार अलराउन्डर तथा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) काठमाडौं किंग्स एलेभेनबाट खेल्ने भएका छन् । चौथो संस्करणको इपिएल आगमी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुनेछ ।

काठमाडौंले सोमबार विदेशी खेलाडीको रुपमा अफ्रिदीको नाम सार्वजनिक गरेको छ । अफ्रिदी नेपाल आउन लागेका सर्वाधिक ठूला नामका अलराउन्डर हुन् । ४१ वर्षिय अफ्रिदी विश्व क्रिकेटकै एक उत्कृष्ट अलराउन्डरमा पर्दछन् । उनलाई बुम बुम अफ्रिदी पनि भन्ने गरिन्छ । अफ्रिदी ठूला सर्ट र स्पिन बलिङका लागि परिचित नाम हुन् । ४१ वर्षिय अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३ सय ९८ ओडिआई, ९९ टि२० आई र ३ सय २६ टि२० खेल खेलेका छन् ।

अफ्रिदीले सन् १९९६ मा केन्याविरुद्ध ओडिआईमा डेब्यू गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रा अघि बढाएका थिए । अफ्रिदीले ओडिआईमा ८ शतक र ३९ अर्धशतक सहित कुल ८ हजार ६४ रन बनाएका छन् । ओडिआईमा अफ्रिदीले ३ सय ९५ विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ७–१२ छ । टि२० आई अफ्रिदीले २००६ मा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए । अफ्रिदीले टि२० मा १ हजार ४ सय १६ रन बनाउँदा ९८ विकेट लिएका छन् ।

२०१६ पछि अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । फ्रेन्चाइज लिग भने निरन्तर खेल्दै आएका छन् । अफ्रिदीसँग झन्डै दुई दर्जन टि२० लिगको अनुभव छ ।

काठमाडौंले गतवर्ष केभिन ओ ब्रायन र न्युजिल्यान्डका कोरी एन्डरसनको नाम सार्वजनिक गरेको थियो । कोरीले न्युजिल्यान्ड छाडि सकेका छन् । अमेरिकाबाट खेल्ने तयारी गरि रहेका छन् । केभिन र कोरी यो वर्ष आउने वा नआउने निश्चित भने छैन । त्यस्तै गतवर्ष वेस्टइन्डिजका स्टार अलराउन्डर कार्लोस व्रेथवेट र ओमानका अकिब इलायसको नाम पनि चर्चामा थियो ।

गतवर्ष पोखरा टाइगर्सले वेस्टइन्डिज तथा विश्व टि२० क्रिकेटका राजा मानिने क्रिस गेलको नाम सार्वजनिक गरेको थियो । गेल इपिएलमा सार्वजनिक भएका सर्वाधिक ठूला नाम हुन् । तर उनी आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकपको कारण इपिएल खेल्न आउने सम्भावना निकै कम छ ।

काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी छन् ।

प्रकाशित : सोमबार, साउन ११, २०७८१४:२७

“२०१२ मा ९१ गोल गर्दा पनि रोनाल्डोको छायाँमा थिए मेस्सी, ब्यालुन डी ओरका योग्य थिएनन्”