एजेन्सी – नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक मद्दतमा बोरुसिया डर्टमुन्डले डिएफवी पोकलको पहिलो राउन्डको खेलमा सहज जित हात पारेको छ ।
ब्रिता एरिना वेइसवाडेनमा शनिबार राति भएको खेलमा डर्टमुन्डले तल्लो श्रेणीको वेहेन वेइसवाडेनमाथि ३–० को सहज जित हात पारेको हो । हालान्डले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल थप्दै ह्याट्रिक पुरा गरेको थियो ।
खेलको २६औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमुन्डलाई १–० ले अघि बढाए । ३१औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत व्यत्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गरेपछि डर्टमुन्डले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।
५१औं मिनेटमा हालान्डले ह्याट्रिक पुरा गर्दै डर्टमुन्डलाई ३–० को सहज जित दिलाउँदै अघिल्लो चरणको यात्रा तय गराए । त्यसपछि पनि गोलका केही अवसर सिर्जना भएपनि सदुपयोग हुन सकेन ।
यस्तै पहिलो राउन्डको खेलमा बुन्डेसलिगा टोली भिएफवी स्टुटगार्ट, अग्सवर्ग, बायर लिभरकुसन, आरबी लाइप्जिग र अर्मेनिया विलेफिल्डले सफलता हात पारेका छन् । स्टुटगार्टले बिएफसी डाइनामोमाथि ६–० को फराकिलो जित दर्ता गर्दा अग्सवर्गले ग्रिफ्सवाल्डरमाथि ४–२ को जित निकाल्यो ।
यस्तै बायर लिभरकुसनले लोकोमोटिभ लाइप्जिगमाथि ३–० को जित निकाल्दा आरबी लाइप्जिगले सान्डओउसेनमाथि ४–० को फराकिलो जित आत्मसात गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै अर्मेनिया विलेफिल्डले वेरेथमाथि ६–३ को फराकिलो जित निकाल्यो ।

