बार्सिलोनाका प्रशंसक ले कहिल्यै नआओस् भनेको दिन आएको छ: क्लब कप्तान लियोनल मेस्सीले क्लब छाड्दैछन्। २००४ मा बार्सिलोनाको पहिलो टोलीका लागि डेब्यु गरेका मेस्सीले १७ वर्षीय लामो करियरपछि क्याटान क्लब छाड्ने भएका हुन्।

आफ्नो पूरा व्यावसायिक करियर नै बार्सिलोनामा बिताएका मेस्सीलाई धेरैले नयाँ चुनौती लिनको लागि डराएको र बार्सिलोना भन्दा अन्य क्लबमा राम्रो प्रदर्शन गर्न नसक्ने पनि बताए। सायद अब मेस्सीले नयाँ चुनौती लिने पक्का भएको छ। बार्सिलोना र मेस्सी बीच नयाँ सम्झौता नहुने आधिकारिक घोषणा भएसँगै मेस्सीले नयाँ क्लब खोज्नु पर्ने भएको छ।

मेस्सी नयाँ लिगमा प्रस्थान गर्ने लगभग पक्का भएपछि उनका चिर-प्रतिद्वन्दी पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गरेको च्यालेन्ज पनि पूरा हुने भएको छ। रोनाल्डोले केहि समय अगाडी मात्र मेस्सीले बार्सिलोना भन्दा अन्य क्लबबाट खेलेको हेर्ने चाहना रहेको बताएका थिए। उनले मेस्सीलाई आफ्नो कम्फर्ट जोनबाट निस्किएर आफूलाई कठिन परिस्थितिमा प्रमाणित गर्न च्यालेन्ज गरेका थिए।

२०२०/२१ सिजनको दौरान रोनाल्डोले मेस्सीलाई इटालीमा खेलेको हेर्न चाहेको बताएका थिए। उनले भनेका थिए,”म मेस्सी इटाली आएको हेर्न चाहन्छु। म आशा गर्छु कि उनले आफ्नो कम्फर्ट जोनबाट बाहिर आएर मेरो च्यालेन्ज स्वीकार गर्नेछन्। तर उनी बार्सिलोनामा खुसी छन् भने म त्यसको सम्मान गर्छु।”

अहिले मेस्सीले सायद रोनाल्डोको उक्त च्यालेन्ज स्वीकार गरेका छन्। तर मेस्सी इटाली जाने सम्भावना भने निकै न्युन रहेको छ। पीएसजी वा म्यानचेस्टर सिटी: यी दुई क्लब मध्ये एक क्लबलाई मेस्सीको गन्तव्यको रूपमा हेरिएको छ। इटाली प्रस्थान नगरेता पनि अर्को सिजन मेस्सीले आफ्नो कम्फर्ट जोनभन्दा बाहिर रहेर खेल्नेछन्।

