एजेन्सी – फ्रेन्च फुटबल पल पोग्बाको म्यानचेस्टर युनाइटेडसँग अब १२ महिनाको मात्र सम्झौता छ। अब आउने एक वर्षमा उनी म्यानचेस्टर युनाइटेडबाट फ्री ट्रान्सफरमा जुनै पनि क्लबमा जान पाउनेछन्।
पोग्बाको ट्रान्सफर यसै सिजन हुने चर्चा चलेपनि अहिले सम्म उनको ट्रान्सफर तत्काल हुने कुनै सङ्केत देखिएको छैन। केहि समय अगाडी उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने चर्चा चलेको थियो। तर उनको पिएसजी ट्रान्सफर सफल हुन सकेन । लियोनेल मेस्सी पिएसजी पुगेसँगै पोग्बा पिएसजी जाने सम्भावना पूर्ण रुपमा सकिएको छ।
पिएसजी जाने चर्चा चल्नु अगाडी पोग्बा रियल म्याड्रिड जाने चर्चा थियो। जिनेदिन जिदान रियल म्याड्रिडको प्रशिक्षक हुँदा रियलले उनलाई अनुबन्ध गर्ने प्रयास समेत गरेको थियो। तर, विभिन्न कारणले गर्दा पोग्बाको ट्रान्सफर सम्भव हुन सकेको थिएन।
डेली स्टारका अनुसार, पोग्बाले म्यानचेस्टर युनाइटेडसँगको सम्झौता सकिए लगतै रियल जाने मनसाय बनाएका छन्। जुन ३० २०२२ मा म्यानचेस्टर युनाइटेड सँगको सम्झौता सकिए लगतै पोग्बा रियल जाने डेली स्टारको दावी छ।
गएको सिजन देखि खेलाडीहरुमा खासै खर्च नगरेको रियलले आउने वर्ष सक्दो धेरै खेलाडीहरुमा खर्च गर्ने बताइन्छ। डेली स्टारले प्रकाशित गरेको रिपोर्टमा आउने वर्ष रियलले किलियन एम्बाप्पे, एर्लिंग हालाण्ड सँग-सँगै पोग्बालाई पनि भित्र्याउन सक्छ। एम्बाप्पे र पोग्बा फ्री ट्रान्सफरमा रियल जाने र अहिले देखि बचाएको रकम हालाण्डमा खर्च गर्ने रियलको योजना रहेको डेली स्टारले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।