नयाँ दल गठनको तयारीमा जुट्यो माधव नेपालपक्ष र महन्थपक्ष !

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्ष र जनता समाजवादी पार्टी(जसपा) का महन्थ ठाकुरपक्ष नयाँ दल दर्ताको तयारीमा जुटेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेसँगै नेपालपक्ष र ठाकुरपक्ष नयाँ दल दर्ताको तयारीमा जुटेको हो।

मंगलबार सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिस राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै दल विभाजन खुकुलो भएको छ। अध्यादेशमा भएको प्रावधान अनुसार अब कुनै पनि दल फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याए पुग्ने भएको छ।

अध्यादेश जारी भएसँगै पार्टीको नाम र चुनाव चिन्हको टुंगो लगाउन माधव नेपाल पक्ष र ठाकुर पक्ष आन्तरिक छलफलमा जुटिसकेका छन्। नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ पार्टी गठनलगायतका विषयमा छलफलमा जुटिसकेको छ। नयाँ बानेश्वरस्थित होटल अर्यालमा छलफल चलिसकेको छ।

त्यस्तै महन्थ ठाकुरले पनि नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन्। ठाकुर समूहले पनि नयाँ पार्टी गठनको सम्बन्धमा छलफल गरिरहेको छ। जनता समाजवादी पार्टी लोकतान्त्रिक गठन गर्ने तयारीमा ठाकुर पक्ष छ।

प्रकाशित : बुधबार, भदौ ०२, २०७८१४:०५

कारवाही रोक्न माधव नेपाल पक्षमा दुई सासंद संसद् सचिवालयमा !