एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले यस सिजन इटालियन क्लब युभेन्टसबाट नै खेल्ने पक्का भएको छ । क्लबका प्रशिक्षक मसिमिलिआनो एलेग्रीले लिगको पहिलो खेलअघि रोनाल्डोले युभेन्टसबाट निरन्तर खेल्ने बताएका हुन् ।
उमेरले ३६ वर्ष पुगेका रोनाल्डोको युभेन्टससँग सम्झौताको यो अन्तिम वर्ष हो । रोनाल्डो र क्लब दुवै एक अर्कासँग खुसी रहेको भनेपनि युरोपका अन्य क्लबले उनलाई अनुबन्ध गर्ने प्रयास जारी राखेका थिए । यसबीचमा रोनाल्डो आफैंले पनि आफ्नो भविष्यबारे टिप्पणी गर्न उचित नरहेको बताएका थिए ।
एलेग्रीले शनिबार भएको पत्रकार सम्मेलनमा बोल्दै रोनाल्डो यस सिजन क्लबमा रहने बताएका हुन् । ‘रोनाल्डोले कहिल्यै क्लब छोड्न चाहेका छैनन् । उनले आफैं म क्लबमा बस्नेछु भन्ने जानकारी दिएका छन् । उडिनेजेविरुद्ध खेलमा पनि रोनाल्डो खेल्नेछन् । रोनाल्डो छाड्नेबारे चर्चामा कुनै सत्यता छैन,’ उनले भने । युभेन्टसले आइतबार राती १०:१५ बजे लिगको पहिलो खेल खेल्दैछ ।
रोनाल्डो युभेन्टसमा चौथो सिजन सुरु गर्न लागेका छन् । यसक्रममा रोनाल्डोले १ सय ३३ खेल खेल्दै १ सय १ गोल गरेका छन् । रोनाल्डोले यसक्रममा २-२ पटक सिरी ए र इटालियन सुपर कप जितेका छन् । उनले गत सिजन कोपा इटालिया पनि जितेका थिए ।
गत साता स्पेनिस संचारमाध्यमले रोनाल्डो रियल म्याड्रिड फर्कने भन्दै समाचार जारी गरेपछि प्रशिक्षक कार्लो एन्चेलोटिले पनि सामाजिक संजालबाट उक्त हल्ला निराधार रहेको बताएका थिए । त्यसपछि रोनाल्डोले पनि मंगलबार नै रियल म्याड्रिडसँग आफ्नो यात्रा सफल रहेको र आफू पूर्ण रुपमा त्यसबाट सन्तुष्ट रहेको बताएका हुन् ।