एमालेभित्रै टेक्ने धर्ति खोज्दै एमालेका ९ नेता, पहिले आफू छिर्ने अनि नेपालसँग कुरा गर्ने !

काठमाडौं । विगतमा माधव नेपाल समूहमा रहेका तर नयाँ पार्टीमा नलागेका एमालेका ५७ जना नेताले दुईवटा नीति लिएको देखिन्छ । त्यो नीतिलाई टेक्ने जग चाहिँ कार्यदलस्तरमा भएको १०बुँदे सहमतिलाई बनाएका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ ।

उनीहरूकै भनाइमा एमाले प्रवेशका लागि १०बुँदे ’भ्यान्टिलेटर’ हो । जसरी पनि एमालेभित्रै टेक्ने धर्ति खोजेको यो समूहको पहिलो नीति १०बुँदेको कार्यान्वयनको आवरणमा एमालेका बैठकमा सहभागी हुने ।

अर्थात्, माधव नेपालसँग नगएका नेताहरूसँग एमाले अध्यक्ष केपी ओलीले एकता भयो भनिदिनुपर्नेछ । त्यसपछि बल्ल माधव नेपालसँग एकताको प्रयासको गर्ने । पहिला एमालेमा प्रवेश गरेपछि माधव नेपालसँग एकताका लागि प्रयास गर्ने दोस्रो नीति छ यो समूहको ।

यो धारका नेता उपाध्यक्ष युवराज ज्ञवालीको भनाइमा यी दुई नीतिको छिनोफानोका लागि अध्यक्ष केपी ओलीसँग अन्तिम छलफल हुनेछ । तर, छलफलको वातावरण अहिलेसम्म बनिसकेको छैन । ज्ञवाली भन्छन्, ‘एमालेको एकता चाहने नेताहरूबीच एकता नै पहिलो नीति हो । त्यसका लागि अध्यक्ष ओलीसँग बसेर अन्तिम टुंगो लगाइनेछ ।’

२ भदौ बिहानसम्म माधव नेपालकै टिममा रहेका तर दिउँसोबाट अलग भएका उनीहरूको भनाइ ओलीले सुनुवाइ भने गरेका छैनन् । ओलीनिकट नेताहरूका दुईथरी तर्क आइरहेका छन् । नेता विष्णु रिमालले तेस्रो धारको माग अनुसार १०बुँदे समझदारी पहिला नै कार्यान्वयन भइसकेको बताउँछन् । अब उनीहरू बैठकमा आएर आफ्नो धारणा राख्ने मात्रै हो । रिमालको भनाइभन्दा फरक चाहिँ शंकर पोखरेलको तर्क छ । उनका अनुसार, नेता नेपालसँग नगएका ५७ जनालाई सहमत हुने गरी १०बुँदे कार्यान्वयन गरिनेछ ।

अध्यक्ष ओलीले यी दुवै तर्कमा खास मत जाहेर गरिसकेका छैनन् । नेता ज्ञवालीको भनाइमा ओलीको मत चाहिँ १०बुँदे समझदारीलाई पार्टीको केन्द्रीय कमिटीसम्मले अपनत्व लिइसकेकाले कार्यान्वयन हुँदै जान्छ, पार्टीका बैठकमा सहभागी हुनुस् भन्ने छ । त्यसमा ५७ जना सहमत भइसकेका छैनन् । त्यसका लागि उनीहरूले कार्यान्वयनका लागि प्रक्रिया प्रस्ट हुनुपर्ने बताइरहेका छन्, जुन ओली सहमत हुने सम्भावना कम छ ।

प्रकाशित : सोमबार, भदौ ०७, २०७८१०:१३

मन्त्री बन्न चाहने कांग्रेसीको लिस्ट लामो, देउवालाई मन्त्री छान्न हम्मेहम्मे !