एजेन्सी – किलियन एम्बाप्पे ट्रान्सफर प्रकरणमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) क्रमश गल्दै गएको छ। स्पेनिस मिडिया मार्काका अनुसार एम्बाप्पेलाई क्लबमै अड्याउन नसकिने कुरा पिएसजीले अहिले आएर बुझ्न थालेको छ। एम्बाप्पे अड्याउन नसकिने कुरामा पिएसजी स्पष्ट भएको मार्का दावी गर्छ।
पिएसजीले एम्बाप्पेलाई क्लबमै अड्याउन विभिन्न प्रयास गर्दै आएको छ। क्लबसँगको सम्झौता थप गर्न पिएसजीले एम्बाप्पेलाई दबाव दिएपनि सफल हुन भने सकेको छैन। एम्बाप्पेलाई क्लबमै राख्न पिएसजीले आकर्षक भन्दा आकर्षक प्रस्ताव राख्दै आएपनि एम्बाप्पे सम्झौता थप गर्न तयार देखिँदैन।
एम्बाप्पे माथि स्पेनिस महारथी रियल म्याड्रिडको नजर रहेको र एम्बाप्पेको प्राथमिकतामा रियल रहेको कुरा सबैलाई थाहा छ। यस कुरालाई पिएसजीले पनि नजिकबाट नियालिरहेको छ। एम्बाप्पे अर्को सिजन फ्री एजेन्टका रुपमा क्लबबाट बाहिरिने पक्का भएसँगै पिएसजी एम्बाप्पेलाई बिक्री गर्न तयार हुने अवस्थामा पुगेको बताइन्छ।
रियल म्याड्रिडको धैर्यता
एम्बाप्पेलाई भित्र्याउन विभिन्न समयमा प्रयास गरेपनि पछिल्लो समय रियल म्याड्रिड चुपचाप देखिन्छ। एम्बाप्पेको विषयमा रियल म्याड्रिडको तर्फबाट कुनै पनि अफर पिएसजीलाई मिलेको छैन। एम्बाप्पे भित्र्याउन रियलले १ सय ५० मिलियन युरो भन्दा बढी रकमको जोहो खबर आएपछि रियलले एम्बाप्पेका लागि ठोस अफर पिएसजीलाई गरेको छैन।
“रियल हालको अवस्थालाई नजिकैबाट नियालिरहेको छ, तर हतारमा देखिँदैन।”,मार्काले आफ्नो समाचारमा लेखेको छ।