एजेन्सी – बोरुसिया डर्टमण्डका निर्देशक माइकल जोर्कले एर्लिङ हालाण्डको ट्रान्सफरलाई लिएर चलिरहेको सम्पूर्ण चर्चालाई खारेज गरेका छन्। ट्रान्सफर विन्डो बन्द हुँदा ४८ घण्टा भन्दा कम समय रहेको अवस्थामा पनि हालाण्डको ट्रान्सफर हुने भन्दै चलेको चर्चालाई जोर्कले सिधै खारेज गरेका हुन्।
पत्रकारहरुले हालाण्डको ट्रान्सफरलाई लिएर प्रश्न सोध्दा जोर्कले आफूहरु बैंक नभई फुटबल क्लब रहेको बताए। कुनै पनि मूल्यले हालाण्डलाई डर्टमण्डबाट किन्न नसक्ने जोर्कले बताए।
“हामी एक फुटबल क्लब हौँ, बैंक होइनौं। हाम्रो हालाण्डलाई लिएर धारणा स्पष्ट छ। ट्रान्सफर विन्डो खुला रहुन्जेल यस्ता विभिन्न हल्लाको सामना हामीले गर्नुपर्नेछ।”,हालाण्डलाई २ सय मिलियन युरोको अफर आए बेच्ने हो भने पत्रकारलके सोधेको प्रश्नको जवाफ दिँदै उनले भने।
हालाण्डलाई यस सिजन बिक्री गर्ने आफूहरुको कुनै पनि योजना नरहेको र आफूहरु त्यसमा स्पष्ट रहेको उनले बताए। आफूहरुको निर्णयमा कुनै पनि परिवर्तन हुने सम्भावना नरहेको उनको स्पष्टिकरण छ।
चर्चामा हालाण्ड
डर्टमण्ड पुगेदेख्यी लगातार गोल गरिरहेका हालाण्ड लगातार चर्चामा छन्। गोलमेसिन हालाण्ड माथि युरोपमा सबै जस्ता ठूला क्लबको नजर छ। हालाण्डलाई पेरिस सेन्ट जर्मेन(पिएसजी), रियल म्याड्रिड, बार्सिलोना, म्यानचेस्टर सिटी, लिभरपुल, चेल्सी जस्ता क्लबले नजिकबाट नियालिरहेका छन्। केहि समय अगाडी चेल्सीले हालाण्डलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो। जसक्रममा डर्टमण्डले चेल्सीको प्रस्ताव अस्विकार गरेको थियो।
पछिल्लो समय हालाण्ड सबै भन्दा बढी पिएसजीको प्राथमिकतामा छन्। युवा स्टार किलियन एम्बाप्पेले क्लब छाड्ने तिब्र इच्छा जाहेर गरिरहेका कारण पिएसजीले हालाण्डलाई प्राथमिकतामा राखेको हो। एम्बाप्पेलाई यहि ट्रान्सफर विन्डोमा रियल पठाएर अन्तिम समयमा हालाण्ड किन्ने पिएसजीको योजना रहेको बताइन्छ। जोर्कको उक्त भनाईसँगै पिएसजीको योजनामा धक्का पुगेको छ।