अन्ततः एट्लेटिको म्याड्रिड फर्किए ग्रिजमन !

एजेन्सी – दुई वर्ष क्याटलान क्लब बार्सिलोना बसाईपछि फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा फर्किएका छन् ।

ग्रिजमन लोनमा पुनः आफ्नो पुर्व क्लब एट्लेटिको फर्किएका हुन् । ग्रिजमन सन् २०१९ मा १२० मिलियन युरोमा क्याटलान क्लब बार्सिलोना पुगेका थिए । तर, दुई वर्षपछि नै ग्रिजमन एट्लेटिको फर्किएका हुन् ।

बार्सिलोनाका सदावहार फरवार्ड लियोनेल मेस्सी अगस्टको सुरुमै पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रस्थान गरेपछि ग्रिजमनलाई सेन्टर फरवार्डको जिम्मेवारी मिल्ने संकेत मिलेको थियो । यसै समरमा आबद्ध भएका डर्च फरवार्ड मेम्फिस डिपाएले उच्च प्रदर्शन गरेपछि ग्रिजमनले क्लब छाड्ने निर्णय गरेको आँकलन गरिएको छ ।

मेस्सीले बार्सिलोना छाडेपछि ग्रिजमन नै क्लबमा सर्वाधिक कमाउने खेलाडी रहेका थिए । क्लब आर्थिक रुपमा कमजोर भएपनि ग्रिजमनले आफ्नो तलब घटाउन मानिरहेका थिएनन् । त्यसैले पनि बार्सिलोनाले उनलाई अन्यत्र पठाउने तयारी गरिरहेको थियो ।

बार्सिलोनाले अन्तिम दिन डिफेन्डर एमर्सन रोयल र मिडफिल्डर इलाइस मोरिबालाई पनि बेचेको छ । एमर्सन २५ मिलियन युरोमा टोटेनहम जाँदा मोरिबालाई २२ मिलियनमा आरबी लाइप्जिगमा बेचेको हो । यसबाहेक क्लबले कप्तानद्वय सर्जियो बुस्केट्स र जोर्डी अल्बासँग तलब घटाउन सहमति गरेको छ । यो सहमतिसँगै अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरोलाई क्लबले औपचारिक रुपमा दर्ता गरेको छ ।

३० वर्षीय ग्रिजमनलाई बार्सिलोनाका समर्थक र प्रशिक्षक रोनाल्ड कोम्यानले पनि खासै रुचाएको पाइदैन । प्रशिक्षक कोम्यानले ग्रिजमनको बचाउ गर्दै उनीजस्तो खेलाडीको कहिल्यै आलोचना हुन नसक्ने बताएका छन् । एट्लेटिकोले यो महिनाको सुरुवातमा ग्रिजमनलाई फर्काउने योजना रहेको बताएको थियो ।

ग्रिजमनले एट्लेटिकोसँग एक सिजनका लागि लोनमा हस्ताक्षर गरेका छन् । बार्सिलोनाले ग्रिजमनलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्नको लागि पनि विकल्प छोडेको छ । बार्सिलोनाले क्लबमा रहेको आर्थिक मन्दीका कारण पनि खेलाडी कटौती गरेको हो ।

एट्लेटिकोमा लुइस सुआरेज, जोआओ फेलिक्स र एन्जल कोरेआका साथै म्याथिअस कुन्हा आक्रमणमा रहँदा ग्रिजमनले अब उक्त स्थानको लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

एट्लेटिकोमा बस्नको लागि क्लबले सन् २०१८ अघि नै ग्रिजमनलाई धेरै प्रयास गरेको थियो । जसमा एक वृत्तचित्रसमेत निर्माण भएको थियो । तर, त्यसको एक वर्षपछि नै ग्रिजमन मोटो रकममा नोउक्याम्प पुगेका थिए । यो सम्झौताले क्लबमा विवादको अवस्था सिर्जना भएको थियो ।

क्याम्प नोउमा ग्रिजमनको पहिलो सिजन बिर्सनलायक बनेको थियो । बार्सिलोनाले च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेको थियो । रोनाल्ड कोम्यान प्रशिक्षक बनेपछि पनि ग्रिजमनले बार्सिलोनामा आशातित प्रदर्शन गर्न सकेनन् ।

बार्सिलोनामा मेस्सीको वरिपरि रहँदा ग्रिजमनले गत सिजन ५१ खेलमा अवसर पाए । उनले ४५ खेलमा पहिलो रोजाईमा अवसर पाउँदा ३ हजार ९०४ मिनेट खेले ।

ग्रिजमनले गत सिजन २० गोल र १२ असिस्ट प्रदान गर्दै केहि प्रभाव बनाएका थिए । यो सिजनको सुरुवाती तीन खेलमा पहिलो रोजाईमा अवसर पाएपनि ग्रिजमनले गोल र असिस्ट प्रदान गर्न सकेका थिएनन् ।

प्रकाशित : बुधबार, भदौ १६, २०७८०८:२०

एम्बाप्पे भित्र्याउने रियलको योजनामा ब्रेक !