मार्का पत्रकार जाभी अमारोका अनुसार रियल म्याड्रिडले किलियन एम्बाप्पेलाई अनुबन्ध गर्नको लागि दुई वर्षदेखि आफ्नो टोलीलाई बन्धक बनाएर राखेको तर अन्ततः मिसन एम्बाप्पेमा म्याड्रिड पराजित भएको बताएका छन्। एम्बाप्पेलाई हालै अन्त्य भएको ट्रान्सफर विन्डोमा अनुबन्ध गर्न नसक्नु स्पेनिस क्लबका लागि ठूलो असफलता भएको उनले बताए।
१३ पटकको च्याम्पियन्स लिग विजेता म्याड्रिडले सन् २०१९ देखि कुनै पनि खेलाडी पैसा तिरेर क्लबमा भित्र्याएको थिएन। यसका साथै एम्बाप्पेलाई क्लब भित्र्याउनकै लागि रियलले थुप्रै खेलाडी बिक्रि समेत गर्यो। तर पीएसजीले क्लबले प्रस्ताव गरेको २०० मिलियनको प्रस्ताव पनि अस्विकार गरेसँगै यो सिजन पनि क्लबको एम्बाप्पे भित्र्याउने सपना चकनाचुर भएको हो।
ट्रान्सफर विन्डो सुरु भएदेखि नै फ्रेन्च स्टार रियल आउने चर्चा भएता पनि पछिल्लो समय भने यसबारे चर्चा निकै गम्भीर भएको थियो। तर २२ वर्षीय स्ट्राइकरले क्लबसँग नयाँ सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेसकेको भए पनि पीएसजीले एम्बाप्पेका लागि आएको कुनै प्रकारको प्रस्ताव पनि स्वीकार गरेन। फ्रेन्च क्लबसँग एम्बाप्पेको सम्झौता २०२२ मा सकिनेछ। जसपछि रियललाई फ्री मा विश्वका सबैभन्दा मूल्यवान खेलाडी अनुबन्ध गर्ने मौका मिल्नेछ।
अर्को सिजन एक पैसा पनि नतिरी एम्बाप्पे पाउने सम्भावना भएता पनि यहि सिजन विश्व विजेता युवा स्टारलाई क्लबमा भित्र्याउन नसक्नु म्याड्रिडको असफलता भएको अमारोले बताएका छन्। उनले भने,”एम्बाप्पेकै लागि रियलले दुई वर्ष देखि आफ्नो टोलीलाई बन्धन बनाएर राखेको थियो। तर पेरेज उक्त चालमा सफल भएनन्। यो क्लबका लागि असफलता हो।”