क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको कमी पूरा गर्नको लागि स्पेनिस लालिगामा किलियन एम्बाप्पे जस्ता विश्वस्तरीय खेलाडीको आवश्यक रहेको भिल्लारियल स्टार राउल अल्बीओलले बताएका छन्। मेस्सी र रोनाल्डो गएपछि फिक्का बनेको लालिगालाई पुन उच्च स्थानमा पुर्याउनका लागि यस्ता चाल अत्वाश्यक रहेको उनले बताए।
पछिल्लो एक दशक मेस्सी-रोनाल्डोको राईभलरी होस् वा युरोपियन स्टेजमा स्पेनिस क्लबको दबदबा, सबै तरिकाबाट लालिगा उत्कृष्ट रहेको पुष्टि हुने गर्थ्यो। तर पछिल्लो केहि समयमा लिगको चमक घटेको महशुस गर्न सकिन्छ। रोनाल्डो २०१८ मा युभेन्टस प्रस्थान गर्दा मेस्सी यहि सिजनबाट पेरिस प्रस्थान गरेका छन्।
यस्तोमा रोनाल्डोसँग रियल म्याड्रिडमा खेलेका अल्बीओलले रियल म्याड्रिडलाई एम्बाप्पे जस्ता खेलाडी अनुबन्ध गर्न आग्रह गरेका छन्। डाएरियो स्पोर्टसँग कुरा गर्दै उनले भने,”मलाई एम्बाप्पे लालिगामा खेलेको हेर्न मन छ। उनी विश्वस्तरीय, निकै उत्कृष्ट खेलाडी हुन्। मलाई लाग्छ यस्ता खेलाडी लालिगाका लागि आवश्यक रहेको छ, विशेषगरी रोनाल्डो र मेस्सी नभएको कारण।”
उनले एम्बाप्पेलाई आफ्नो पूर्व क्लब रियल म्याड्रिडमा आवद्ध भएको देख्न चाहेको पनि बताएका छन्। एम्बाप्पेको नाम लामो समय देखि रियल म्याड्रिडसँग जोडिदै आएको छ। यो सिजन रियल प्रस्थान गर्न असफल भएका फ्रेन्च स्टार पीएसजीमा जारी सिजनको अन्त्यसँगै आफ्नो सम्झौता सकिने हुँदा फ्री ट्रान्सफरमा स्पेनिस क्यापिटल प्रस्थान गर्ने सम्भावना रहेको छ।