मेष (चु चे चो ला लि लु ले लो अ)
पहिलेको तुलनामा सप्रिएको साता छ । स्वास्थ्यको स्थिति राम्रो हुँदै जाला । विशेषगरी पढ्ने र लेख्नेतिर रुचि बढ्ने छ । परिवारबाट भएको असहयोग पनि घट्न जाला । सानातिना स्वास्थ्यका समस्या भने बाँकी नै रहनेछन् । इन्द्रायणीको दर्शन गरिरहनुहोस् ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
मध्यम खालको साता छ । मङ्गलबारसम्म राम्रोसित काम बने पनि बुधबारबाट केही समस्या खडा होलान् । सानातिना वादविवाद परी नै रहनेछन् । स्वास्थ्यको स्थिति मध्यम मात्र रहला । मित्रहरूबाट भने राम्रो सहयोग पाउनुहुनेछ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
काम त बन्ला तर खर्च पनि बढी नै होला जस्तो छ । व्यापार र व्यवसायमा आएको बाधा घटेर जानेछ । पढाइतिर भने चाहेर पनि समय दिन सक्नुहुने छैन । जागिरतिर पनि निराशा नै देखिन्छ । साताका पछिल्ला दिन भने उत्साहजनक छन् ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
सुरुमा केही समस्या आए पनि साता राम्रो खालको छ । बौद्धिक स्थिति एकदम परिमार्जित भएको छ । त्यसैले समाजमा तपाईंको प्रतिष्ठा बढी रहला । परिवारको सहयोग राम्रोसँग मिल्नेछ । हाललाई मित्रहरूले पनि सहयोग नै गर्नेछन् । स्वास्थ्य भने मध्यम रहला ।
सिंह (मा मि मु मे मो टा टी टू टे)
खर्च बढी हुनाले मनमा चिन्ता बढ्ला । धार्मिक वा सांस्कृतिक परम्परालाई राख्नका लागि पनि खर्च गरिरहनु पर्नेछ । नातेदार र मित्र वर्गहरूसँग भेटघाट भइरहला । शिक्षाको क्षेत्रमा थोरै मात्र समय दिनुहुनेछ । साताका पछिल्ला दिनले भने काम गर्ने उत्साह बढाइरहनेछन् ।
कन्या (टो पा पी पू ष ण ठ पे पो)
आर्थिक स्थिति सामान्य खालको रहला । आम्दानी एवं खर्च बराबरै हुनाले बचत हुने देखिन्न । व्यापारको काममा पनि त्यति ठूलो प्रगति होला जस्तो छैन । जागिरतिर यथास्थिति मात्र रहला । परिवार र मित्रहरूले आफ्नो मतलबका लागि मात्र सहयोग गर्नेछन् ।
तुला (रा रि रु रे रो ता ती तू ते)
त्यति नराम्रो साता होइन । आँटेका धेरै काम बन्नेछन् । मित्रहरूको सहयोग पनि राम्रैसित पाउनु हुनेछ । नजिकका भन्दा टाढाका मित्रहरूले समेत सहयोग दिनेछन् । व्यापारबाट भने सामान्य लाभ हुनेछ । सूर्यको नित्य दर्शनले सानातिना समस्यालाई हल गर्न मद्दत मिल्ला ।
वृश्चिक (तो ना नि नू ने नो या यि यू)
परिश्रम बढी नै गरिएला । सानो कामका लागि पनि मेहनत बढी पर्नाले थकानको अनुभव हुनेछ तर गरेका काममा असफलता देखिन्न । साहस कत्ति पनि घट्ने छैन । पछिल्ला दिनमा भने खर्च अत्यधिक हुन जाला । पढाइतिर अझै पनि सोचेको जति प्रगति होला जस्तो छैन ।
धनु (ये यो भा भी भू ध फा ढा भे)
मनमा डर लागी नै रहला । त्यसैले सोमबारको बेलुकीसम्म त्यति ठूलो काम गर्न सक्नुहुने छैन । मङ्गलबारदेखि भने काम गर्ने उत्साह बढ्दै आउला । स्वास्थ्यको स्थिति नराम्रो छैन । व्यापारतिर लगाएको श्रम खेर जाने छैन भने त्यसैबाट तपाईंलाई सहयोग पनि मिल्ला ।
मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)
अझै पनि दिन पूरा सप्रिएको छैन । अनेकौँ कठिनाइसँग सङ्घर्ष गर्नुपर्ला । लक्ष्य पूरा गर्न निकै अप्ठेरो हुनेछ । काम गरेको ठाउँमा पनि बाधा दिने प्रशस्त छन् । स्वास्थ्यको स्थिति मध्यम माक्र रहला । हाल सूर्य, शनि एवं शुत्रको आराधना गरिरहनु पर्नेछ ।
कुम्भ (गू गे गो सा सी सु से सो दा)
अलिअलि समस्या थपिए पनि पहिलेको भन्दा राम्रो समय छ । व्यापारसम्बन्धी काममा आएको बाधा क्रमशः हटेर जानेछ । जागिरबाट भन्दा अरू व्यवसायबाट नै फाइदा छ । साताको पूर्वार्द्धमा भन्दा उत्तरार्द्धमा बढी सफलता मिल्ला । गणेशको आराधना गरिरहनुहोस् ।
मीन (दी दू थ झ ञ दे दो चा ची)
खर्च निकै नै बढ्ने छ । यो खर्चलाई पूरा गर्न धौधौ पर्ला जस्तो छ । हातले समातेको व्यवसायबाट झिनो खालको लाभ मात्र होला । स्वास्थ्यको स्थिति प्रतिकूल हुनाले त्यसैका लागि पनि खर्च गरिरहनु पर्ला तर सूर्य बलियो हुनाले मनले हरेस भने खाने छैन ।
-दामोदरनाथ लोहनी
ज्योतिषाचार्य