बार्सिलोना स्टार सर्जियो अगुएरोले आफूले के कारणले क्लबको जर्सी नम्बर १० लगाउन अस्विकार गरेको खुलासा गरेका छन्। पूर्व सिटी स्ट्राइकरले क्लबले आफूलाई मेस्सीको नम्बर १० जर्सी लगाउन प्रस्ताव गरेको पुष्टि गरेका छन्।
१७ वर्षीय बार्सिलोना करियर अन्त्य गर्दै पूर्व क्लब कप्तान लियोनल मेस्सी यसै सिजन मात्र फ्रेन्च क्लब पीएसजी प्रस्थान गरेका हुन्। सन् २००८ देखि क्याटालान क्लबमा १० नम्बर जर्सी लगाउँदै आएका मेस्सीले क्लब छाडेपछि उक्त जर्सी खाली भएको थियो। क्लबले मेस्सीको जर्सी नम्बर लगाउन आफ्नो नयाँ स्ट्राइकरलाई प्रस्ताव गरेको थियो तर अर्जेन्टिनी स्टारले त्यसलाई अस्विकार गरेका थिए। जसपछि युवा स्टार अन्सु फातीलाई क्लबले नयाँ जर्सी नम्बर १० को रूपमा सार्वजनिक गरेको थियो।
हालै मात्र ३३ वर्षीय स्ट्राइकरलाई यसको बारेमा प्रश्न गर्दा उनले किन आफूले मेस्सीले लागएको जर्सी अस्विकार गरेको खुलासा गरेका छन्। आइतबार राति अगुएरोले इबाई लानोसको ट्वीच स्ट्रिममा यसबारे खुलासा गरेका हुन्। उनले बार्सिलोनाले आफूलाई मेस्सीको जर्सी नम्बर प्रस्ताव गरेपनि उनले आफ्ना अन्तराष्ट्रिय टिममेटको सम्मान गर्दै उक्त प्रस्ताव अस्विकार गरेको बताएका हुन्।
💪 @aguerosergiokun still working on his recovery! 💙❤️ pic.twitter.com/8qmOrwybZL
— FC Barcelona (@FCBarcelona) September 4, 2021
उनले भने,”बार्सिलोनाको जर्सी नम्बर १० लगाउन अस्विकार गर्नुको कारण ? मलाई चाहना नभएर हैन, त्यो मेस्सीलाई एक प्रकारको सम्मान हो।” गत सिजनबाट पूर्व क्लब म्यानचेस्टर सिटीसँगको सम्झौता अन्त्य भएसँगै अगुएरो फ्री-ट्रान्सफरमा बार्सिलोना आएका थिए। हाल चोटका कारण मैदान बाहिर रहेका अर्जेन्टिनी स्टारले क्लबका लागि डेब्यु गर्न बाँकी रहेको छ।