पूर्व पीएसजी स्टारका अनुसार अर्जेन्टिनी दिग्गज लियोनल मेस्सीको आगमनसँगै क्लबमा एम्बाप्पेको प्रभाव कम हुनसक्छ। मेस्सी जस्तो उत्कृष्ट खेलाडीको आगमनले पार्क डे प्रिन्सेसमा गोल बाडिने र यस सिजन मेस्सीले एम्बाप्पेको भन्दा बढी गोल गरे फ्रेन्च युवा स्टारले त्यसलाई स्वीकार गर्नुपर्नेछ।

विश्व विजेता फ्रेन्च युवा सेन्सेसन र ब्राजिलियन सुपरस्टार नेयमार हुँदा हुँदै पनि फ्रेन्च क्लबले आफ्नो आक्रमण अझ मजबूत बनाउनका लागि ३४ वर्षीय जिनियसलाई अनुबन्ध गरेको छ। ६ पटकका ब्यालुन डी ओर विजेता मेस्सी बार्सिलोना छाडेर फ्रान्समा आफ्नो प्रतिष्ठा अझै बढाउन खोज्दैछन्। क्याम्प नाउमा जस्तै उनी फ्रान्समा पनि प्रभावकारी हुने आशा गरिएको छ। यस्तोमा मेस्सीको उपस्थितिमा केहि खेलाडी छायाँमा पर्ने निश्चित रहेको छ।

पीएसजी दिग्गज पाउलेटा, जसले क्लबका लागि १०९ गोल गरेका छन्, ले लिग १ को आधिकारिक वेबसाइटमा एम्बाप्पेले मेस्सीसँग खेल्ने कुरामा भने,”एम्बाप्पे यसका लागि तयार हुनुपर्छ। तर उनले मेस्सीसँग धेरै कुरा सिक्ने छन्। यदि उनी खाली स्पेसमा राम्रो रन गर्न सके भने मेस्सी र नेयमारको उत्कृष्ट पासको भरपूर लाभ लिन सक्छन्। जसको कारण धेरै भन्दा धेरै गोल गर्न सक्छन्।”

मेस्सी र नेयमार दुबैसँग एकसाथ खेल्न पाउँदा एम्बाप्पेलाई धेरै लाभ हुने बताउँदै उनले भने,”यी तीन मध्ये एकले केहि कम गोल गर्नेछन्, त्यो पक्का छ। यदि कम गोल गर्नेमा एम्बाप्पे भए भने उनले त्यो स्वीकार गर्नुपर्छ।”

जारी सिजनको अन्त्यमा क्लबसँगको सम्झौता सकिने एम्बाप्पेले नयाँ सम्झौतामा हस्ताक्षर गर्ने कुनै मनशाय देखाएका छैनन्। रियल म्याड्रिडसँग लामो समय देखि नाम जोडिएका एम्बाप्पे यहि समरमा स्पेनिस क्यापिटल जान असफल भएका थिए।

