शनिबारको दिन म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा रोनाल्डो रातो जर्सीमा मैदान उत्रिएको हेर्न सारा फुटबल जगत उत्साहित रहेको छ। म्यानचेस्टर युनाइटेड विरुद्ध न्युकासल खेलमा रोनाल्डोले क्लबका लागि दोस्रो पटक डेब्यु गर्ने सम्भावना रहेको छ।

स्टीव ब्रुस आफ्नो न्यूकासल टिमका साथ ओल्ड ट्राफोर्डमा फर्किनेछन् र पक्कै पुरानो यादको एक तत्वका साथ आउनेछन्। सन् १९९५ मा ९ महिनाको प्रतिबन्धपछि युनाइटेडका अर्का जर्सी नम्बर ७ लगाएका दिग्गज खेलाडी एरिक क्यान्टोनाको पुनरागमन खेलमा ब्रुस पनि रेड डेभिलका सदस्य थिए। उक्त खेललाई युनाइटेडको इतिहासमा ‘रिटर्न अफ द किंग’ भनेर पनि चिनिन्छ।

यस पटक म्यानचेस्टर विरुद्ध खेल्दा ब्रुसका फ्रेन्च खेलाडी रोनाल्डोको डेब्यु खराब पार्न चाहन्छन्। एलन सेन्ट-मैक्सिमिन न्युकासलका प्रमुख खेलाडी हुन् र उनी कुनै पनि खेलमा जाँदा बिना कुनै डर मैदानमा उत्रिने गर्छन्। “उनीहरु म्यानचेस्टर युनाइटेड भएपनि हराउन सकिन्न भन्ने हैन,”२४ वर्षीय खेलाडीले भने,”रोनाल्डो आउनु भन्दा पनि उनीहरु निकै बलिया थिए र थुप्रै खेल जितेका थिए। रोनाल्डोको आगमनले अझै बलियो भएका छन् तर हामी निकै केन्द्रित रहने छौं।”

तीन खेलमा जीत बिहिन रहेको न्युकासल विरुद्ध म्यानचेस्टर निकै बलियो टोली हुनेछ तर पनि त्यसले आफूहरुले रोनाल्डोको डेब्यु खेल खल्लो पार्न सक्ने विश्वास तोडेको छैन। एनइउ टिभीमा बोल्दै उनले भने,”उक्त खेल जित्न हामीले सक्दो कोशिस गर्छौं किनकि रोनाल्डो कै कारण पूरा विश्व उक्त खेल हेरिरहेको हुन्छ। मलाई थाहा छ मैले के गर्न सक्छु। हामीलाई जीतको आवश्यक छ। त्यसैले, सबैले प्रयास गर्यो भने हामी म्यानचेस्टरलाई पराजित गर्न सक्षम छौं।”

