अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले विश्व फुटबलका महान् हस्ती ब्राजिली लेजेन्ड पेलेको कीर्तिमान तोडेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्धको खेलमा ह्याट्रिक पुरा गर्दै मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका हुन् ।
बोलिभिया विरुद्ध गरेको ह्याट्रिकसँगै मेस्सीले अर्जेन्टिनी राष्ट्रिय टोलीका लागि ७९ गोल गरेका छन्। यसअघि पेलेले ब्राजिल राष्ट्रिय टोलीका लागि ७७ गोल गरेका थिए। खेलपछि मेस्सीका साथै हरेक अर्जेन्टिनी खेलाडीले घरेलु दर्शकको सामु कोपा अमेरिका उपाधि प्रस्तुत गर्दै सेलिब्रेसन गरेका थिए। आफ्नो देशका लागि सनसनीपूर्ण प्रदर्शनपछि एक अन्तर्वार्तामा उनले भने: “यो भन्दा खुसीको पल केहि हुनै सक्दैन। मेरी आमा यहाँ छिन्। मेरा दाजु-भाइ छन्। उनीहरुले मेरो लागि धेरै गरेका छन्, त्यसैले यहाँ उपाधि जितेको सेलिब्रेसन गर्दा उनीहरु पनि छन्।”
आफू सहभागी भएको ४ फाइनलमा पराजित भएपछि पाँचौं पटकको प्रयासमा गत जुलाईमा घरेलु टोली ब्राजिललाई फाइनल खेलमा १-० ले पराजित गर्दै अर्जेन्टिनालाई च्याम्पियन्स बनाएका मेस्सीले अब भने अन्तराष्ट्रिय उपाधि जित्नु पर्ने दबाबबाट शान्ति पाएको स्वीकार गरेका छन्। पूर्व बार्सिलोना कप्तानले भने,”धेरै पटक भाग्यबाट ठगिएपछि साकार भएको मेरो सपना हाँसिल गर्दा शान्ति मिलेको छ। त्यो क्षण अझै पनि सपना जस्तै लाग्छ। अझैसम्म पनि विश्वास गर्न सकेको छैन। म आज पनि त्यो समयको तस्बीर हेर्दै रमाउँछु।”
View this post on Instagram
मेस्सीले सामाजिक सञ्जालमा एक मन छुने पोष्टको साथ यस विशेष क्षणलाई बयान गर्ने प्रयास गरेका छन्। पीएसजी स्टार इन्स्टाग्राममा लेख्छन्,”मैले यो दिनको सपना सधैं देख्दै आएको थिएँ। भगवानलाई धयाबाद यो दिन आयो। सबैबाट मैले जस्तो माया पाएको छु त्यसलाई बयान गर्न मसँग कुनै शब्द नै छैन। त्यो सुन्दर रात, म निकै रमाएको थिएँ,अविष्मरणीय।”