म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लियोनल मेस्सीसँगको भेटको बारेमा केहि पनि नसोचेको बताएका छन्। ग्वार्डिओलाले पूर्व बार्सिलोना स्टार मेस्सी, अब पेरिस सेन्ट जर्मेन खेलाडी, को च्याम्पियन्स लिगमा सेप्टेम्बर महिनाको अन्त्यमा सामना गर्दैछन्।
ग्वार्डिओला र मेस्सीको जोडिले आफ्नो ४ वर्षीय बार्सिलोना कार्यकालमा ३ लालिगा उपाधि र २ च्याम्पियन्स लिग उपाधि जितेका थिए। शनिबार प्रिमियर लिगमा लेसेसटर सिटी विरुद्ध १-० को जीत निकालेको म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको समूह ए को पहिलो खेलमा बुधबार जर्मन क्लब आरबी लाइपजिंगको सामना गर्दैछ।
जर्मन क्लब विरुद्धको खेल अगाडी बोल्दै सिटी प्रशिक्षकले लाइपजिंगसँगको भिडन्त अगाडी नै मेस्सीको सामना गर्नुमा ध्यान केन्द्रित हुनु खतरनाक हुने बताएका छन्। ग्वार्डिओलाले भने,”निस्सन्देह, हाम्रो लागि सबैभन्दा कठिन खेल लाइपजिंग विरुद्धको पहिलो खेल हुनेछ, यो सबैभन्दा महत्त्वपूर्ण खेल हो। मैले पीएसजीको बारेमा एक सेकेन्ड सोच्दिन। हामीले समूह चरणमा सामना गर्न गइरहेका टोलीहरु निकै कठिन टोली रहेका छन्।”
बुधबार हुने समूह चरणको पहिलो खेलमा सिटीले आफ्नो घरेलु मैदानमा आरबी लाइपजिंगको सामना गर्दा पीएसजीले भने क्लब ब्रुजसँग उसकै घरेलु मैदानमा भिड्ने छ। दुबै खेल नेपाली समय अनुसार बुधबार राति १२:४५ बाट सुरु हुनेछ।