एजेन्सी – पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको करियरमा म्यानचेस्टर युनाइटेडका महान् प्रशिक्षक सर एलेक्स फर्गुसनको ठूलो भूमिका छ। फर्गुसनकै कारण रोनाल्डो युनाइटेडमा अनुबन्धित भएका थिए। त्यति मात्र नभई रोनाल्डोको युनाइटेड करियर फर्गुसनकै छत्र-छायाँमा झाँगिएको थियो।
रोनाल्डो आफैं पनि फर्गुसनले आफ्नो करियरमा महत्वपूर्ण भूमिका खेलेको मान्छन्। रोनाल्डोका अनुसार फर्गुसन उनका लागि फुटबलमा पिता नै हुन्। रोनाल्डोलाई पहिलो पटक मात्र नभई दोस्रो पटक ल्याण्ड गराउन पनि फर्गुसनले महत्वपूर्ण भूमिका खेले। म्यानचेस्टर सिटीमा जान छाडेर रोनाल्डो म्यानचेस्टर युनाइटेडमा ल्याण्ड भए।
रोनाल्डोलाई युनाइटेडमा दोस्रो पटक ल्याण्ड गराउन आफूले मात्र नभई धेरै व्यक्तिहरुले योगदान दिएको फर्गुसन बताउँछन्। उनका अनुसार धेरै व्यक्तिहरुको प्रयासका कारण रोनाल्डो युनाइटेड फिर्ता हुन सकेका हुन्। रोनाल्डो युनाइटेड आउन इच्छुक रहेको थाहा पाएपछि आफूले अग्रसरता लिएर ट्रान्सफरलाई सम्भव गराएको फर्गुसनले एक अन्तर्वार्तामा बताए।
उनले भने,”धेरै मानिसहरु रोनाल्डोलाई फिर्ता ल्याउन महत्वपूर्ण भूमिका खेले। उनी साँचै युनाइटेड फिर्ता हुन चाहन्छन् भन्ने थाहा पाएपछि मैले पनि योगदान दिएँ।”
रोनाल्डोको ट्रान्सफरमा भूमिका खेल्न पाउनु आफ्ना लागि भावनात्मक मात्र नभई रोमाञ्चक अनुभव पनि भएको फर्गुसनले बताए। रोनाल्डोको ट्रान्सफर सफल भएपछि राहत महसुस गरेको फर्गुसनको भनाई छ। आफू मात्र नभई कसैले पनि रोनाल्डोलाई म्यानचेस्टर सिटीमा कल्पना गर्न नसक्ने फर्गुसन बताउँछन्।
“म मात्र होइन रोनाल्डो सिटीमा हुने कुरा कसैले पनि कल्पना गर्न सक्दैन। त्यहि भएर हामीले आवश्यक कदमहरु चाल्यों र ट्रान्सफर सफल भयो।”,उनले भने।
युवा खेलाडीहरुमा रोनाल्डोले छुट्टै प्रभाव रहने र त्यसले खेलाडीहरुको विकासमा समेत टेवा पुग्ने फर्गुसनले बताए।
रोनाल्डोको उपस्थितले युनाइटेडमा ठूलो परिवर्तन आउने विश्वास फर्गुसनको छ।

