बाघको अगाडी मुसा भने जस्तै भयो बार्यनको अगाडी बार्सिलोना !

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गतको समूह चरणको पहिलो खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले बार्सिलोना माथि ३-० को सहज जीत निकालेको छ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्यनलाई जीत दिलाउन पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले २ तथा थोमस मुलरले एक गोल गरे। पहिलो हाफको ३५ औं मिनेटमा मुलरको गोलबाट अग्रता लिएको बार्यन दोस्रो हाफमा थप २ गोल गर्न सफल भएको थियो। उत्कृष्ट लयमा रहेका लेवान्डोस्कीले खेलको ५६ औं र ८५ औं मिनेटमा गोल गर्दै जर्मन च्याम्पियनको जीत पक्का गरेका थिए।

निकै खराब प्रदर्शन गरेको बार्सिलोनाले बार्यन म्युनिखको पोस्टमा ९० मिनेटभर कुनै पनि प्रहार गर्न सफल भएन। यस हारसँगै स्पेनिस क्लबले इतिहास मै पहिलो पटक घरेलु मैदानमा लगातार तेस्रो खेल हारेको छ। गत सिजन समूह चरणको अन्तिम खेलमा घरेलु मैदानमा युभेन्टससँग ३-० ले पराजित भएको बार्सिलोना अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पीएजसीसँग क्याम्प नाउ मै ४-१ को लज्जास्पद हार बेहोर्न बाध्य भएको थियो।

लगातार २ हारका साथ घरेलु मैदानमा आफूभन्दा निकै बलियो मानिएको जर्मन क्लब विरुद्ध उत्रिएको बार्सिलोनाको खेलमा कुनै पनि सुधार देखिएन। पछिल्लो पटक बार्यनसँग ८-२ ले पराजित भएको बार्सिलोनाले आफ्नो समर्थकको आलो घाउमा नुन छर्किने काम मात्र गरेको छ। मंगलबारको हारसँगै यो पनि प्रमाणित भएको छ कि क्लब अब युरोपका ठूला क्लबसँग प्रतिस्पर्धा गर्न स्थितिमा छैन।

बार्यन म्युनिख विरुद्धको खेलमा बार्सिलोनाका केहि समर्थक ‘कोमन आउट’ भन्ने ब्यानरका साथ पनि देखा परेका थिए। क्लब व्यवस्थापन र प्रशिक्षक दुबै नै क्लबलाई उच्च स्तरमा पुर्याउन नसक्ने किसिमका रहेको धेरैको बुझाई रहेको छ।

प्रकाशित : बुधबार, भदौ ३०, २०७८०८:३९

रोनाल्डोको ठाउँमा मैदान छिरेका लिंगार्डले विपक्षि टीमलाई असिस्ट दिएपछि … [भिडियो सहित]