रोनाल्डोको ठाउँमा मैदान छिरेका लिंगार्डले विपक्षि टीमलाई असिस्ट दिएपछि … [भिडियो सहित]

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग २०२१-२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। मंगलबार राति भएको खेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले युनाइटेडलाई अग्रता दिलाएपनि युनाइटेड स्विस टोली योङ ब्वाइजको मैदानमा २-१ ले पराजित भयो।

रोनाल्डोले खेलको १३ औं मिनेटमा नै गोल गरेका थिए। ब्रुनो फर्नान्डेसले दिएको उत्कृष्ट पासलाई रोनाल्डोले पेनाल्टी क्षेत्र भित्रबाट गोलपोस्टको बाटो देखाएका हुन्। खेलको ३५ औं मिनेटमा डिफेन्डर आरोन वान बिसाकाले रातो कार्ड पाएसँगै युनाइटेड १० खेलाडीमा सिमित हुन पुग्यो। १० खेलाडीमा सिमित भएसँगै युनाइटेडले डिफेन्सलाई कडा बनाएपनि योङ ब्वाइजको आक्रमणलाई रोक्न सकेन।

दोस्रो हाफको ६६ औं मिनेटमा निकोलस गमालेउले योङ ब्वाइजको खाता खोले। उनले सिल्बान हेफ्तीको पासलाई गोलमा परिणत गराएका थिए। त्यसपछि योङ ब्वाइजको तर्फबटा विभिन्न आक्रमणहरु भए। जसलाई गोलरक्षक डेविड डे हेयाले रोक्न सफल भए। तर, खेलको अन्तिम समयमा सम्हालिन नसक्दा युनाइटेड हार्न पुग्यो।

इन्ज्युरी समयको पाँचौ मिनेटमा रोनाल्डोको स्थानमा मैदान छिरेका लिंगार्डका कारण योङ ब्वाइजले दोस्रो गोल गर्ने मौका पायो। लिंगार्डको ब्याकपास नै युनाइटेडको हारको कारण बन्न पुग्यो। लिंगार्डले गोलरक्षकलाई दिएको पासलाई थिओसन जोर्डन सिबात्चेउले नियन्त्रणमा लिएर गोल गरे।

प्रकाशित : बुधबार, भदौ ३०, २०७८०८:४१

मेस्सीको रेकर्ड माथि रोनाल्डोको धावा, क्यासिलासलाई पनि छाडेनन् !