गत महिना बार्सिलोनाबाट पीएसजी प्रस्थान गरेका अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले बुधबार राति फ्रेन्च क्लबका लागि च्याम्पियन्स लिग डेब्यु गर्ने सम्भावना रहेको छ। २१ वर्ष बार्सिलोनामा बिताएपछि गत महिना फ्री-एजेन्टका रूपमा फ्रेन्च क्लबसँग अनुबन्ध भएका थिए।
३० अगस्टमा रेइम्स विरुद्धको खेलमा ६५ औं मिनेटमा मैदान प्रवेश गर्दै मेस्सीले आधिकारिक रूपमा डेब्यु भने गरिसकेका छन्। तर पीएसजीको जर्सीमा पूरा खेल खेल्न बाँकी रहेका मेस्सीले क्लबका लागि च्याम्पियन्स लिगमा भने खेलेका छैनन्। बुधबार पीएसजीले क्लब ब्रुज विरुद्ध समूह चरणको पहिलो खेल खेल्दै छ। खेल नेपाली समयअनुसार आज राति १२:४५ बाट सुरु हुनेछ।
आजको खेलमा पीएसजीले आक्रमण पङ्क्तिमा मेस्सी-नेयमार-एम्बाप्पे उतार्ने सम्भावना उच्च रहेको छ। यी तीन स्टार अहिलेसम्म एकसाथ खेलेका छैनन्।
खेल सम्बन्धि पूरा जानकारी:-
खेल: क्लब ब्रुज भर्सेस पेरिस सेन्ट जर्मेन
मिति: १६ सेप्टेम्बर, बिहिबार
समय: राति १२:४५ बजे
नेपालमा कसरी हेर्ने लाइभ खेल ?
नेपाल लगायत दक्षिण एशियाली राष्ट्रमा च्याम्पियन्स लिग खेलको राइट सोनी पिक्चर्स नेटवोर्कसँग रहेको छ। यस्तोमा नेपालमा पीएसजी र क्लब ब्रुज बीचको खेल सोनी टेन ३ मा प्रत्यक्ष रूपमा हेर्न सकिनेछ।