कोम्यानले भने – ‘अहिले बायर्न बलियो देखियो, २-३ वर्ष पछि त हामी पनि बलियो हुन्छौं’

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले जर्मन च्याम्पियन बायर्न म्युनिख आफूहरु भन्दा राम्रो टीम रहेको स्विकारेका छन्। यूईएफए च्याम्पियन्स लिग २०२१–२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा बायर्नसँग पराजित भएपछि कोम्यानले बायर्न आफूहरु भन्दा धेरै राम्रो टीम रहेको स्विकारेका हुन्।

कोम्यानले बायर्नको टीम आफूहरु भन्दा राम्रो भएको मात्र नभई ‘स्क्वाड डेप्थ’ पनि राम्रो रहेको बताए। बायर्नमा वैकल्पिक खेलाडीको संख्या राम्रो रहेका कारण पनि आफूहरु कम्जोर देखिन पुगेको कोम्यानको भनाई छ। बायर्न राम्रा खेलाडीहरुको समूह रहेको र उक्त समूह लामो समय देखि सँगै रहेको कोम्यानले बताए।

“बायर्न राम्रा खेलाडीहरुको एक राम्रो समूह हो। उनीहरु धेरै समय देखि सँगै छन्। साथै उनीहरुको स्क्वाड डेप्थ पनि राम्रो छ।”,बायर्नसँग पराजित भएपछि कोम्यानले भने।

बार्सिलोना आउने समयमा बलियो हुँदै जाने र राम्रो प्रदर्शन गर्न सक्ने पनि कोम्यानले बताए। हालको अवस्थामा बार्सिलोनाका धेरै खेलाडीहरु घाइते रहेको हुँदा पनि समस्या भएको कोम्यानको भनाई छ। बार्सिलोनामा रहेका युवा खेलाडीहरु आउने समयमा राम्रो हुँदै जाने र त्यसले बार्सिलोनालाई फरक अवस्थामा पुर्याउने विश्वास समेत कोम्यान गर्छन्।

उनले भने,”हामीसँग धेरै युवा खेलाडी छन्। आउने दुई-तीन वर्षमा उनीहरु थप राम्रो हुनेछन्। यो स्विकार गर्न धेरै गाह्रो छ, तर हामीले कुर्नुपर्ने हुन्छ।”

सर्जियो अगुएरो, ओस्माने डेम्बेले र अन्सु फाती जस्ता खेलाडी फर्किएपछि स्थिति फरक हुनेमा कोम्यान विश्वस्त छन्। स्थितिमा सुधार हुन समय लाग्ने र त्यसका लागि धैर्यता चाहिने उनको भनाई छ।

“सत्य यहि हो कि हामीले यसै गरी केहि हप्ता बिताउनुपर्नेछ। तर सर्जियो अगुएरो, ओस्माने डेम्बेले र अन्सु फाती फर्किएपछि भने स्थिति फरक होला”,आशावादी कोम्यानले भने।

प्रकाशित : बुधबार, भदौ ३०, २०७८१४:२७

च्याम्पियन्स लिगमा आज: ८ खेल हुँदै, मेस्सीको डेब्यु पनि आजै !