मेस्सी, नेयमार र एमबाप्पे उतार्दा पनि पिएसजीको केहि लागेन, बराबरीमै रोकियो !

एजेन्सी – अग्रपङ्तिमा लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेलाई एकैपटक मैदानमा उतारेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सुरुवाती अग्रता जोगाउन नसक्दा बेल्जियन क्लब ब्रुगसँग बराबरीमा खेलेको छ ।

ब्रुगमा बुधबार राति भएको खेलमा पीएसजी क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पीएसजीका लागि एन्डर हेरेराले गाल गर्दा घरेलु टोलीका हान्स भानाकेनले बराबरी गोल फर्काएका थिए । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको १५औं मिनेटमा एन्डर हेरेराको गोलबाट पीएसजीले घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए । तर त्यो अग्रता लामो समय टिकेन २७औं मिनेटमा हान्स भानाकेनले इडुआर्ड सोवोलको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

बराबरीपछि बल पोसेसनमा बलियो पकड राखेपनि पीएसजीले क्लब ब्रुगको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
यसै समरमा क्याटलान क्लब बार्सिलोनाबाट पीएसजी आएपछि मेस्सी, एमबाप्पे र नेयमार एकैपटक मैदान उत्रिएको हो । तर, उनीहरुले आफ्नो जादु देखाउन सकेनन् ।

यही समूहको अर्काे खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले १० खेलाडीमा समेटिएको जर्मन क्लब आरबी लाइप्जिगमाथि ६–३ को सानदार जित निकालेको छ । सिटीको जितमा नाथन एके, रियाद महारेज, ज्याक ग्रेलिस, जोओ क्यान्सेलो र गाब्रियल जेससले गोल गर्दा एक गोल उपहार पाएको थियो । लाइप्जिगका क्रिस्टोफोर एनकुकुले ह्याट्रिक पुरा गरेपनि हार टार्न सकेन ।

एन्जलेलिनो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लाइप्जिग ७९औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । त्यसबेलासम्म सिटीले ५–३ को फराकिलो अग्रता लिइसकेको थियो ।

यो नतिजापछि सिटी ३ अंक जोडेर शीर्षस्थानमा रहँदा पीएसजी र क्लब ब्रुगले समान १ अंक जोडेका छन् । लाइप्जिग अंक विहीन छ ।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८०७:३०

लिभरपुलको प्राथमिकतामा लेवान्डोव्स्की, आउने ट्रान्सफर विन्डोमा भित्र्याउने !