खाता खोल्न नसकेपनि गोल प्रति खेल अनुपातमा रोनाल्डो भन्दा मेस्सी धेरै अगाडी !

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन शुरु भैसकेको छ। अहिले समूह चरणका खेलहरु भैरहेका छन्। च्याम्पियन्स लिग समूह चरणका खेलहरुमा म्यानचेस्टर सिटी, लिभरपुल, बायर्न म्युनिख, रियल म्याड्रिड, बोरुसिया डर्टमण्ड, आयाक्स जस्ता क्लबहरुले जित निकाल्दा बार्सिलोना, इन्टर मिलान, एसी मिलान, म्यानचेस्टर युनाइटेड लगायतका क्लबहरु पराजित भएका छन्। त्यस्तै धेरै नै बलियो मानिएको पेरिस सेन्ट जर्मेन(पिएसजी) जस्तो क्लब भने बराबरीमा रोकिन पुगेको छ।

पछिल्लो समय चर्चामा रहेका विभिन्न खेलाडीहरुले गोलको खाता खोलिसकेका छन् भने केहि खेलाडीले खाता खोल्न बाँकी छ। यसै हप्ता च्याम्पियन्स लिगमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले पनि नयाँ क्लबबाट डेब्यु गरे। मेस्सीले नयाँ क्लब पिएसजी र रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि च्याम्पियन्स लिग डेब्यु गरेका हुन्।

युनाइटेडका लागि दोस्रो पटक डेब्यु गरेका रोनाल्डोले डेब्यु खेलमै खाता खोल्न सके। उता मेस्सीले भने खाता खोल्न सकेनन्। स्विस क्लब योङ ब्वाइज विरुद्ध गोल गरेसँगै च्याम्पियन्स लिगमा रोनाल्डोको गोल संख्या १ सय ३५ पुगेको छ।

रोनाल्डो च्याम्पियन्स लिगमा सबै भन्दा बढी गोल गर्ने खेलाडी हुन्। उनका निकटतम प्रतिद्वन्दी मेस्सी १५ गोलले पछाडी छन्। उनले अहिले सम्म १५ कम गोल गरेका छन्। मेस्सीले अहिले सम्म १ सय ५० च्याम्पियन्स लिग खेलमा सहभागी हुँदा १ सय २० गोल गरेका छन्।

गोल संख्यामा रोनाल्डो अगाडी भएपनि गोल प्रति खेल अनुपातको मामलामा भने मेस्सी रोनाल्डो भन्दा अगाडी छन्। मेस्सीले मात्रै १ सय ५० खेलमा १ सय २० गोल गर्दा रोनाल्डोले १ सय ७७ खेलमा १ सय ३५ गोल गरेका छन्। यस हिसाबले गोल प्रति खेल अनुपातमा रोनाल्डो मेस्सी पछि छन्।

सबै भन्दा उच्च गोल खेल अनुपात हुने सक्रिय खेलाडीको सूचीमा मेस्सी शिर्ष स्थानमा छन् भने रोनाल्डो दोस्रो स्थानमा छन्। प्रति खेल गोल अनुपातमा बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की तेस्रो स्थानमा छन्। उनले ९७ खेल खेल्दै ७५ गोल गरेका छन्।

प्रकाशित : बिहिबार, भदौ ३१, २०७८१४:१०

पीएसजीमा मेस्सी खत्तम हुने मेस्सी समर्थकको चिन्ता [भिडियो सहित]