‘च्याम्पियन्स लिग ग्रेट’ बन्ने बाटोमा हालाण्ड, खेल भन्दा बढी गोल !

एजेन्सी – युवा स्टार फुटबलर एर्लिङ हालाण्ड युरोपमा लगातार तरंग पैदा गरिरहेका छन्। जर्मन बुन्डेसलिगामा मात्र नभई युइएफए च्याम्पियन्स लिगमा पनि हालाण्डको उपस्थित बलियो छ। च्याम्पियन्स लिगमा हालाण्ड लगातार गोल गरिरहेका छन्।

च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा पनि हालाण्डले गोल गरे। टर्किस क्लब बेसिक्टासलाई बोरुसिया डर्टमुन्डले पराजित गर्दा हालाण्डले नयाँ सिजनको सुखद शुरुवात गरे।

जर्मन क्लब डर्टमुन्ड आएयता हालाण्ले उच्च तहको प्रदर्शन मात्र गरेका छैनन्, उनी विश्वकै उत्कृष्ट स्ट्राइकर बन्नेक्रममा छन् भन्ने छनक पनि दिएका छन्।

खेल भन्दा धेरै गोल

च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमै गोल गरेका हालाण्डले अहिले सम्म उत्साहजनक २१ गोल गरेका छन्। हालाण्डले १७ खेल खेल्दा यो संख्यामा गोल गरेका हुन्। च्याम्पियन्स लिगका पछिल्ला ८ खेलमा अमात्रै हालाण्डले १० गोल गरिसकेका छन्। रेड बुल साल्जबर्ग, नापोली र लिभरपुल जस्ता क्लब भएको समूहमा हुँदा पनि हालाण्डले ६ खेलमा ८ गोल गर्न सफल भएका थिए।

युरोपा लिग र युरोपा लिग क्वालिफाइमा समेत कुरा गर्ने हो भने हालाण्डले २३ खेलमा २५ गोल गरिसकेका छन्। यी तथ्यांकले हालाण्ड घरेलु लिगमा मात्र नभई युरोपका ठूला क्लब विरुद्ध पनि गोल गर्न सक्छन् भन्ने प्रमाण दिन्छ।

तुलनात्मक रुपमा लुइस स्वारेजले च्याम्पियन्स लिगका ६७ खेलमा २७ गोल गरेका छन्, हर्नान क्रेस्पोले ६५ खेलमा २५ गोल, वेन रुनीले ८५ खेलमा ३० गोल, शमूएल इटोले ७८ खेलमा ३० गोल गरेका छन्। त्यस्तै एन्टोइन् ग्रिजम्यानले ७१ खेल खेल्दा २५ गोल गरेका छन् भने किलियन एम्बाप्पेले ४६ खेलमा २७ गोल गरेका छन्।

हालाण्डको गोल स्कोरिंग दर हेर्ने हो भने उनले क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, रोबर्ट लेवान्डोस्कीलाई पछ्याउने देखिन्छ। रोनाल्डोले १ सय ७७ खेलमा १ सय ३५ गोल गरेका छन्, मेस्सीले १ सय ५० खेलमा १ सय २० तथा लेवान्डोस्कीले ७३ खेलमा ५० गोल गरिसकेका छन्।

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८१२:४०

मिग्नोलेट भन्छन् – ‘मेस्सी-नेयमार-एम्बाप्पेलाई रोक्न मैले धेरै मिहिनेत गर्न परेन”