रोनाल्डोले छाडेपछिकै उत्कृष्ट लयमा रियल म्याड्रिड, एकाएक कसरी भयो यस्तो कमाल !

एजेन्सी – सन् २०१८ मा क्रिस्टियानो रोनाल्डोले छाडेयता रियल म्याड्रिडले पहिला जस्तै सफलता पाउन सकेको छैन। घरेलु लिगमा मात्र नभई च्याम्पियन्स लिगमा पनि रियलले अपेक्षा गरिएजस्तो सफलता पाउन सकेन। रोनाल्डोले क्लब छाडेपछि एक पटक लालिगा जितेपनि रियल पहिला जस्तो स्तरमा पुग्न सकेको छैन। तर, यस सिजन भने रोनाल्डोले छाडेयताकै बलियो शुरुवात गरेको छ।

पछिल्ला पाँच खेललाई हेर्ने हो भने रियल पुनः लयमा फर्किन लागेको अनुमान लगाउन सकिन्छ। युवा खेलाडी र अनुभवी खेलाडीको राम्रो तालमेल रियलमा देख्न पाइने छनक देखिसकेको छ।

सन् २०२१-२२ को नयाँ सिजन शुरु भएयता रियलले कुनै पनि खेलमा पराजय भोगेको छैन। नयाँ सिजनमा पाँच खेलमा रियलले ४ जित निकालेको छ भने एक खेलमा बराबरी खेलेको छ।

रियल म्याड्रिडमा रोड्रिगो, भिनिसियस जुयिनर, कामाभिङ्गा जस्ता युवा खेलाडीहरुको प्रभाव स्पष्ट रुपमा देखा पर्न थालिसकेको छ। यसै सिजनका रियल म्याड्रिड फर्किएका कार्लो एन्सेलोटी टोलीमा युवा र अनुभवी खेलाडीलाई मिलाएर खेलाउने प्रयासमा देखिन्छन्। उनको यो प्रयास केहि हद सम्म सफल भइरहेको देखिन्छ।

रियलले सन् २०१३-१४को सिजन देखि २०१७-१८ सिजन सम्ममा चार पटक च्याम्पियन्स लिग जितेको थियो। त्यसयता रियल फाइनल सम्म पनि पुग्न सकेको छैन। गएको तीन सिजन देखि च्याम्पियन्स लिगको फाइनलमा प्रिमियर लिग क्लब छन्।

सिजनको शुरुवाती तथ्यांकलाई हेर्ने हो भने रियल म्याड्रिड धेरै बलियो अवस्थामा देखिन्छ। रियल म्याड्रिडको गोल संख्यामा पनि उच्च वृद्धि भएको छ। गएका पाँच खेलमा रियलले १४ गोल गरिसकेको छ।

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८१५:५२

रोनाल्डो युनाइटेड गएपछि ठूलो समस्यामा यी खेलाडी, बिरक्तिन सम्म बिरक्तिए !