“बार्सिलोनाको यो हविगत हुनुमा कोम्यानको कुनै दोष छैन”

एजेन्सी – क्याटलान क्लब बार्सिलोना अहिले धेरै नै खराब अवस्थाबाट गुज्रिरहेको छ। लियोनेल मेस्सी जस्ता दिग्गज खेलाडीले क्लब छाडेका छन् भने एन्टोइन् ग्रिज्म्यान पनि क्लबमा छैनन्। स्टार खेलाडी क्लबमा नहुँदा बार्सिलोना पहिला भन्दा धेरै कम्जोर देखिरहेको छ। च्याम्पियन्स लिगको पहिलो खेलमै बार्सिलोना पराजित हुन पुग्यो।

बार्सिलोना कति सम्म निरिह भएको छ भन्ने अहिले देखिन थालेको छ। बार्सिलोना यति कम्जोर हुनुमा कसको दोष होला त ? भन्ने प्रश्न पनि चर्चामा छ। बार्सिलोनाले गएका वर्षहरुमा गरेका गलत निर्णयहरुका कारण बार्सिलोना अहिलेको अवस्थामा आइपुगेको विश्लेषकहरु बताउँछन्।

बार्सिलोना कम्जोर हुनु पछाडी प्रशिक्षक रोनाल्ड कोम्यानको पनि भूमिका रहेको केहिको आरोप रहने गरेको छ। तर स्पेनिस मिडिया ‘मार्का’का एक पत्रकार फेलिक्स मोनकल्स भने बार्सिलोनाको यस्तो हविगत हुनुको दोष कोम्यानलाई दिन नहुने बताउँछन्। कोम्यानसँग कुनै विकल्प नरहेको र उनी निरिह रहेको फेलिक्सको भनाई छ।

“बार्सिलोनामा जे भैरहेको छ, त्यसको दोष कोम्यानलाई दिन मिल्दैन। उनी पनि बाध्य छन्, उनीसंग विकल्प छैनन्। विकल्प नभएकै कारण अहिले यस्तो भैरहेको जस्तो मलाई लाग्छ।”,फेलिक्स भन्छन्। खेलाडीको कमी हुनु र भएका खेलाडीहरु घाइते हुनुले पनि बार्सिलोनालाई कम्जोर बनाएको उनकोए विश्लेषण छ।

फेलिक्सले भने,”लियोनेल मेस्सीले बार्सिलोना छाडे, ग्रिज्म्यान पनि छैनन्। यस कुरालाई भुल्ने हो भने पनि त्यहाँ धेरै खेलाडी घाइते छन्। यसले पनि कोम्यानलाई समस्यामा पारेको छ।”

प्रकाशित : शनिबार, असोज ०२, २०७८११:११

स्टर्लिङ माथि बार्सिलोनाको नजर !